नवलपरासी। गँहु छर्ने बेलामा बजारमा बीउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन् । कार्तिक महिनाको अन्तिम हप्तादेखि मंसिर १५ गते भित्र गहुँ छर्न उपयुक्त समय मानिने भएपनि अहिले नवलपरासीमा गहुँको बीउ र मलखाद अभाव भएको छ ।
गहुँकोे बीउ र मलखाद अभाव भएपछि उत्पादन घट्ने हो कि भनेर किसान चिन्तामा परेका छन् । गाउँगाउँबाट किसानहरु अहिले बीउ र मलका लागि भन्दै सदुरमुकाम परासी धाईरहेका छन् । तर दिनभरी लाईन बस्दा पनि बीउ र मल नपाएपछि रित्तै फर्किनुपरेको किसानको गुनासो छ ।
नवलपरासीमा जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा राष्ट्रिय बीउविजन कम्पनी भैरहवाका डिलरहरु मार्फत ४० प्रतिशत अनुदानमा गहुँको बीउ र मल विक्री भईरहेको कृषि कार्यालयले जनाएको छ । कार्यालयले गत वर्षकै अनुपातमा अर्थात करिब साढे चार सय मेट्रीक टन बीउ र मल आवश्यक पर्ने गरि सिफारिस गरेको भएपनि अहिले गहुँ खेति गर्ने किसानको संख्या बढेको तथा विगत वर्षमा भारतबाट बीउ ल्याउने किसानले समेत अहिले नेपालकै बीउ प्रयोग गर्न थालेपछि माग बढेको कार्यालयले जनाएको छ ।
मल बीउको अभाव भन्दा पनि गहुँ खेति गर्ने किसानको संख्या बढेकाले अभाव भएको जस्तो देखिएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत योगेन्द्र यादवले बताउनुभयो । अहिले भारतमा ५ सय र हजारको नोट प्रतिवन्ध लागेपछि नेपाली रुपैँयाको समेत अवलम्बन भएकाले पनि नेपाली किसानहरु बीउ खरिदका लागि भारत गएका छैनन् ।
नवलपरासीमा कुल १८ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । उक्त क्षेत्रफलमा गरिएको गहुँ खेतिमा गतवर्ष ३५ हजार ९१ मेट्रिकटन गहुँ उत्पादन गरिएको थियो भने यो वर्ष माटोमा चिस्यान राम्रो भएकाले गहुँका उत्पादनमा बृद्धि हुने कार्यालयले अनुमाान गरेको छ । तर किसानले भने समयमा मल बीउ नपाए उत्पादन घट्न सक्ने बताएका छन् ।