कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२को महाकाली किसान समूहमा आबद्ध किसानले व्यावसायिक रूपमा गड्यौंला पालन शुरू गरेका छन् । कृषि विकास कार्यालयबाट प्रतिकिसान २५ हजार रुपैयाँका दरले पाएको अनुदानबाट समूहमा आबद्ध ५० किसानले गड्यौंला पालनलार्ई व्यावसायिक रूप दिएका हुन् ।
घरमै पाइने झारपात, कुहिने फोहर, गोबर, सुतीका बोरा, केराको थाममा गड्यौंला राखेर मल उत्पादनको कार्य भइरहेको छ । गड्यौंला पालन गर्दै आएका ४९ जनाले १ हजार र एक जनाले २ हजार गड्यौंला राखेर प्राङ्गारिक मल उत्पादन गर्दै आएको किसान सिद्धराज जोशीले बताए ।
गड्यौंला राखेर तयार गरिएको मल अग्र्यानिक तरकारी उत्पादनमा प्रयोग भइरहेको किसान कमला विष्टले जानकारी दिइन् । आफूहरूले प्राङ्गारिक मलको प्रयोग गरी तीन कट्ठादेखि पाँच कट्ठा जग्गामा अग्र्यानिक तरकारीखेती गरेको र मलको उत्पादन बढाउँदै तरकारीको क्षेत्रफलसमेत बढाउँदै लैजाने सोच रहेको उनले बताइन् ।