लमजुङ। सुन्दरबजार ९, तार्कु कमेरेका शिवलाल ढकालले व्यवसायिक रुपमै केराखेती गर्नुभएको छ । उहाँले आफ्नो १२ रोपनी पाखोबारी र धान फल्ने दुई रोपनी खेत गरी १४ रोपनी जग्गामा व्यवसायिक केरा खेती गर्नुभएको छ । उहाँले झापाली मालुवा र स्थानीय जातका केरा लगाउनुभएको छ । जीवन चलाउने दरिलो आधार खोज्ने क्रममा आफू केराखेतीमा तानिएको उहाँले बताउनुभयो । ‘दुई छोरा, एक छोरी, श्रीमती र आफू गरी पाँच जनाको परिवार, छोराछोरी पढाउनुपर्ने, आयश्रोत केही थिएन,’ उहाँले विगतलाई सम्झदैँ सुनाउनुभयो, ‘परिवार पाल्नै पर्यो, छोराछोरीलाई पढाउनै पर्यो, आम्दानी कुनै बाटो नभएपछि मैले व्यवसायिक केराखेती सुरु गरेँ । आम्दानी राम्रै छ । जीवन चलाउन सजिलै भएको छ ।’
आर्थिक स्थिति सुध्रियो
उहाँले २०६८ सालबाट कृषि व्यवसायमा हात हाल्नुभएको हो । सुरुमा एक रोपनी जग्गामा केरा खेती गरेका ढकालले अहिले केराखेती विस्तार गरिसक्नुभएको छ । उहाँको खेतबारीमा अहिले ढकमक्क केराखेती देख्न सकिन्छ । केराको घरी र घरीमै पाक्दै गरेको केराले बाटो हिँड्ने समेतको नजर तान्छ ।
विगतमा जीवन निर्वाहका लागि मात्रै तरकारी, फलफूल लगाउने ढकाल व्यवसायिक रुपमै कृषि कर्ममा लागेपछि धेरैको स्याबासीको पात्र बन्न सफल हुनुभएको छ । व्यवसायले परिवारको आर्थिक स्थिति समेत सुध्रिएको उहाँको अनुभव छ । ‘बाटो हिँड्नेले समेत आहा ! कत्ति राम्रो केरा खेती भन्छन्, सबैले स्याबासी दिन्छन्, खुसी लाग्छ,’ मुस्कुराउँदै शिवलालले भन्नुभयो, ‘यसबाटै राम्रो आम्दानी भएको छ, आर्थिक स्थिति सुध्रिएको छ ।’
केराखेतीले नै आफ्नो जीवन बदलिएको उहाँले बताउनुभयो । काँचो होस् या पाकेको केरा, खरिदका लागि बगैँचामै आउँछन् ग्राहकहरु । बजारको कुनै समस्या छैन । उहाँको देखासिकी गरेर अरु किसानले पनि खेर गएको जमिनमा केरा खेती गर्न थालेका छन् ।
‘केरा खेतीबारे आफुले जानेको ज्ञान, सीप अरुलाई पनि बाँड्ने गरेको छु,’ उहाँले भन्नुभयो ।
यस्तै, कमेरेमा १८ जना किसानले साबिक तार्कुमै ‘कमेरे व्यवसायिक केराखेती कृषक समूह’ नै बनाई केरा खेती गरेका छन् । साथमा कफि खेती पनि सुरु गरेका छन् ।
केरा खेतीसँगै तरकारी खेती पनि
व्यवसायिक कृषक ढकालले केराखेतीको साथमा व्यक्तिगत रुपमा तरकारी खेती पनि गर्नुभएको छ । उहाँले घर नजिकै दुई वटा टनेल निर्माण गरी तरकारी खेती गर्नुभएको हो । टनेलमा अहिले गोलभेँडा, रायो साग लगायतका तरकारी रहेका छन् । तरकारी खेती र केरा खेतीबाट वार्षिक दुई लाख बढी आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । ‘सुरुका वर्षहरुमा पनि यत्तिको आम्दानी भएको छ, बिस्तारै खेती पनि विस्तार गर्दै लानेछु, आम्दानी पनि त्यसैअनुसार बढ्नेमा ढुक्क छु,’ ४७ वर्षका ढकालले भन्नुभयो । माटो सुहाउँदो कुनै पनि कृषि कर्म गर्न सकेमा पाखापखेरीमा पनि पैसा फलाउन सकिने उहाँले बताउनुभयो । ‘केरा खेतीको हेचाहमै दिन बित्ने गर्छ,’ उहाँले भन्नुभयो, ‘केरा खेतीलाई सिंचाई र गोडमेलको निकै आवश्यकता पर्छ ।’