रौतहट । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनमा नआएपछि उखु किसानले अहिले सख्खर उद्योगहरुलाई उखु बेच्न थालेका छन् ।
चिनी उद्योगले किन्ने मूल्यभन्दा कम मूल्यमा किसानले सख्खर उद्योगलाई उखु बिक्री गरेका हुन् । उखु उत्पादक महासङ्घ र चिनी उत्पादक सङ्घबीच उखुको मूल्य निर्धारण नगरेपछि कम मूल्यमा किसानले सख्खर उद्योगलाई उखु बिक्री गरेका छन् ।
अहिले रौतहटको विभिन्न स्थानमा रहेको सख्खर उद्योगमा किसानले उखु बिक्री गरिरहेका छन् । उखुको मूल्य प्रति क्वीण्टल तीन सय रुपैयाँमा किसानले सख्खर उद्योगलाई बिक्री गरेका छन् । कात्तिकको पहिलो हप्तादेखि नै उखु किसानले सख्खर उद्योगलाई उखु बिक्री गरेको उखु किसान रामशङ्कर राय यादव बताए । उखु बिक्री गरेपछि तत्काल रकम आउने भएकाले सस्तोमा भएपनि सख्खर उद्योगलाई उखु बिक्री गरेको उनले बताए । समयमा उखु काटेर बिक्री गर्दा नयाँ बाली लगाउन पाइने उनको भनाई छ । उखु उत्पादक सङ्घ र चिनी उत्पादक सङ्घबीच उखुको मूल्यको विषयमा सहमति हुन नसक्दा किसान मारमा परेका हुन् । गत वर्ष चिनी उद्योगले तोकेको ४ सय ४८ रुपैयाँ प्रति क्वीण्टलभन्दा कम मूल्यमा किसानले सख्खर उद्योग उखु बिक्री गरिरहेका छन् ।
श्रीराम सुगर मिल्स गरुडाले करीब ५८ करोड रुपैयाँ उखु किसानको रकम भुक्तानी गर्ने बाँकी रहेको र पहल भइरहेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताए । उखु किसानले समयमा उखुको भुक्तानी नभएका कारण निराश भएर सख्खर उद्योगलाई उखु बिक्री गरेको अध्यक्ष यादवको भनाई छ । उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालनमा नआउने श्रीराम सुगर मिल्स गरुडाका उखु प्रवन्धक सियाराम शाहले बताए । करीब एक महीनापछि श्रीराम सुगर मिल्स गरुडा सञ्चालनमा आउने उनको भनाई छ ।