रौतहट । रौतहटको चन्द्रपुर ६ स्थित फुलबारीमा सिँचाईको सुविधा पुगेपछि कृषक हर्षित भएका छन् ।
यूएसएआईडी केएर नेपालको हरियो वन कार्यक्रम अन्तर्गतको आर्थिक सहयोग तथा जिल्ला भूसंरक्षण कार्यालयको प्राविधिक सहयोगमा सिँचाई सुविधा पुगेको हो । रू. १२ लाखको लागतमा कुलो निर्माण गरी स्थानीय हर्दिया खोलाको पानी अहिले खेतसम्म पुगेको छ । केएर नेपालको हरियो वन कार्यक्रम अन्तर्गत रू. ८ लाख २१ हजार, चन्द्रपुर नगरपालिकाबाट रू. १ लाख, उपभोक्ता समितिबाट रू. ३ लाख २१ हजारको सहयोगमा सिँचाई खेतसम्म पुगेको स्थानीय भोला थपलियाले बताए । अहिले ८४ हेक्टर खेतमा सिँचाई हुने गरेको उनले जानकारी दिए । सिँचाई सुविधा पुगेपछि नगदेबालीतर्फ कृषक आकर्षित भएको उनको भनाई छ । अहिले त्यस भेगका कृषकले धान, मकै, गहुँ लागतका बाली लगाउने गरेका छन् । सिँचाई सुविधा पुगेपछि ९० प्रतिशत उव्जनी बढेको स्थानीय कृषक यादव खरेलले बताए ।
सिँचाई सुविधा नहुँदा कृषकले खेती गर्ने छाडेका उनले भने अहिले व्यावसायिक रुपमा खेती हुने गरेको छ । पछिल्लो समयमा तरकारी खेती गर्ने कृषकको सङ्ख्या बढेको उनको भनाई छ । करीब २ सय २८ घरधुरीका कृषकको खेतमा सिँचाई सुविधा पुगेको उनले जानकारी दिए । कृषकले उव्जनी गरेको खाद्यन्न बाली तथा तरकारी चन्द्रनिगाहपुर बजारसम्म ल्याएर बिक्री गर्ने गरेका छन् । सडक सुविधा पुगेको उक्त स्थानमा सिँचाई सुविधा पुगेपछि खेती गर्ने कृषकको सङ्ख्या बढको छ ।