भोजपुर । स्थानीय सुन्तला र जुनारले यहाँको बजार ओगट्न थालेको छ । जुनार तथा स्थानीय पहाडे जातका सुन्तलाले उचित मूल्य पाउन थालेपछि पछिल्लो समय किसान व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ लागिपरेका हुन् ।
दशवर्ष अगाडिसम्म आफ्नो बगैँचामा फलेको सुन्तला नुनसँग साट्ने गरेकामा अहिले वार्षिक दुई लाखदेखि तीन लाखसम्ममा आम्दानी हुन थालेकाले यो सुनको रुपमा स्थापित भएको कृषक किसान राईले बताए । मध्यपहाडी लोकमार्गसँगै गाउँ/गाउँसम्म कच्ची सडक निर्माण भई जिल्लालाई सिधैँ तराईका ठूला सहरसँग जोडिएपछि सुन्तलाले बजार पाउन थालेको हो ।
स्वादिष्ट तथा स्वास्थ्यकर फलको रुपमा चिनिने सुन्तला अहिले घर बगैँचाबाटै गाउँघरकै र जिल्ला बाहिरका ठेकेदारले लिने गरेको सिद्धेश्वरका व्यवसायी कमल राईको भनाई छ । जिल्लामा अहिले सुन्तला कलिलो हँुदै ठेकेदार गाउँ छिरेर बगैँचानै ठेक्का लिने गरेका छन् । विदेश गएर अरुको देशमा दःुख गर्नुभन्दा आफ्नै गाउँघरमा व्यावसायिक खेती गारी मनग्य आम्दानी लिन सकिने सुन्तलाको नर्सरी तथा व्यावसायिक सुन्तलाखेती गर्दै आउनु भएका विष्णुप्रसाद अधिकारीको भनाइ छ ।सुन्तलाखेतीतिर कृषक आकर्षित भएपछि जिल्ला कृषि विकास कार्यालय तथा जिल्लामा रहेका इलाका कार्यलयबाट बिरुवा उमार्ने याममा कृषकलाई ५० प्रतिशतको सहुलियतमा बिरुवा उपलब्ध गराइएको कार्यलयका प्राविधिक सहायक रामयतन यादपले बताए ।