चितवन । खाद्य उत्पादनको महत्त्व बढ्दै जाँदा कृषि र भेटेरिनरी विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा सहज रोजगारीको अवसरसँगै व्यवसायसमेत गर्न सहज हुने भएपछि कृषि र भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्कायको स्नातक तहमा ३ हजार ९ सय ४ जनाले प्रवेश परीक्षा दिएका थिए । सङ्कायका सहायक डीन विष्णु ओझाका अनुसार सो सङ्कायमा रामपुरमा १ सय ६५ र कास्कीको पुरनचौरमा ५० जनाले मात्र अध्ययन गर्न पाउनेछन् । गतवर्ष कृषि सङ्कायमा ३ हजार जनाले प्रवेश परीक्षा दिएका थिए । वर्षेनि कृषि पढ्न चाहनेको सङ्ख्या बढ्दो छ ।
त्यसैगरी, भेटेरिनरी र मत्स्य विज्ञानमा २ हजार २ सय ३५ जनाले आवेदन दिएकामा १ हजार ७ सय ४७ जनाले प्रवेश परीक्षा दिएका छन्, जसमध्ये ५० ले भेटेरिनरीमा र १६ जनाले मत्स्य विज्ञानमा अध्ययन गर्न पाउनेछन् । गतवर्ष ती दुवैमा १ हजार २ सय ५० जनाले आवेदन दिएकामा १ हजार १ सय ८५ जनाले प्रवेश परीक्षा दिएका थिए । सो सङ्कायकी डीन डा शारदा थपलिया कृषि शिक्षाको महŒव बढ्दै जाँदा अध्ययनका लागि विद्यार्थीको चाप थपिँदै गएको बताउँछिन् । विज्ञान विषयमा दश जोड दुई उत्तीर्ण गरी राम्रो अङ्क ल्याएका अधिकांशको चाहना कृषि र भेटेरिनरी शिक्षा बनेको छ । थपलियाका अनुसार प्रवेशिका परीक्षामा ८५ प्रतिशत र दश जोड दुईमा ७५ प्रतिशतभन्दा कम अङ्क ल्याएका विद्यार्थी उत्तीर्ण हुन सकेका छैनन् ।
कृषि र भेटेरिनरीमा उच्च शिक्षा सकेपछि स्वदेशमै रोजगार र व्यवसाय गर्ने प्रशस्त अवसर छ । विदेशका लागि पनि सहज अवसर हुन्छ । सोही विश्वविद्यालयका प्राध्यापक एवम् पूर्वरजिष्ट्रार डा. सूर्यकान्त घिमिरे विश्वका अधिकांश देशले भविष्यमा कसरी खाद्यान्न पु¥याउने भन्ने विषयमा चिन्तन थालेकाले कृषि शिक्षाको महत्त्व दिनानुदिन बढ्दै गएको बताउँछन् । कृषि शिक्षा अध्ययन गरेका कोही पनि बेरोजगार नरहेको भन्दै घिमिरेले आवश्यक जनशक्ति पूर्ति हुन नसकेको बताए । स्वास्थ्य विज्ञान शिक्षा महँगो भएकाले पनि कृषि शिक्षातर्फ विद्यार्थीको आकर्षण बढेको बताइन्छ ।