काठमाडौँ । लामो समयको प्रयासपछि नेपालमा पहिलो पटक भर्मिकम्पोष्ट मलको हकमा छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको छ ।
कृषि विकास मन्त्रीको अध्यक्षतामा बसेको प्रांगारिक मल प्रविधिक कार्यटोलीको बैठकबाट भर्मिकम्पोष्ट मलको हकमा त्यसका लागि छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको हो । भर्मिकम्पोष्ट मलको हकमा तय गरिएको गुणस्तर तथा मापदण्डले अब भर्मिकम्पोष्ट मलको बिक्री वितरणको बाटो खुलेको हो । यसअघि प्रांगारिक मलको हकमा एउटै कार्यविधि मात्र लागु गरिएको थियो । जसमा चिस्यान २० देखि ३० प्रतिशतसम्म कायम गरिदा भर्मिकम्पोष्ट मलको बिक्री वितरणमा जटिलता उत्पन्न भएको थियो ।
झण्डै पाँच वर्षदेखि देखिएको भर्मिकम्पोष्ट सम्बन्धी त्यसको गुणस्तर तथा मापदण्डबारे देखिएको विवाद यो निणर्यसँगै अब अन्त्य भएको दिपक भर्मिकम्पोष्ट मल प्रालिका सञ्चालक दिपक थापाले जानकारी दिए । लामो समयदेखि नेपाल कृषि अनुसन्धान परिषद नार्क, कृषि विकास मन्त्रालय, माटो विज्ञ, लगायतका विभिन्न अनुसन्धानको आधारमा पेस गरिएको प्रतिवेद अनुसार भर्मिकम्पोष्ट मलको गुणस्तर तथा मापदण्ड तय गरिएको हो ।
भर्मिकम्पोष्ट मलको नयाँ तय गरिएको गुणस्तर तथा मापदण्ड अनुसार अब मलको नाइट्रोजन २ प्रतिशत, फस्फोरस ० दशमलव ७५ प्रतिशत, पोटास २ प्रतिशत र चिस्यान २० देखि बढीमा ४० प्रतिशतसम्म रहने गरि निर्णय गरिएको वैठकमा सहभागी प्राविधिक उपसमितिका सदस्य एवं हिकाष्टका उपप्रध्यापक बिष्णुप्रसाद भट्टराईले जानकारी दिए ।
भर्मिकम्पोष्टलको गुणस्तर तथा मापदण्ड कुनै व्यक्तिले बोलेको भरमा नभई विभिन्न अध्यन तथा नार्क लगायतका विभिन्न अनुसन्धानले प्रमाणित गरेपछि वैठकमा निर्णय भएको प्राविधिक उपसमितिका सदस्य एवं हिकाष्टका उपप्रध्यापक भट्टराईको भनाइ छ ।
वैठकले विभिन्न अध्यन तथा अनुसन्धान गर्न बरिष्ठ माटो विज्ञ जनार्दन खड्काको संयोजकत्वमा प्राविधिक उपसमिति पनि गठन गरेको छ । उपसमितिका सदस्यमा हिकाष्टका उपप्रध्यापक भट्टराइ र नार्कका वरिष्ठ वैज्ञानिक श्रीप्रसाद बिष्ट रहेका छन ।
वैठकमा कृषि विभागका महानिर्देशक युवकध्वज जिसी, माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गाप्रसाद दवाडी, नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तगर्तका माटो विज्ञान महाशाखाका प्रमुख कमल साह, वरिष्ठ माटो विज्ञ जनार्दन खड्का, वरिष्ठ कृषि अर्थ विज्ञ दिवसराज बिष्ट, नार्कका वैज्ञानिक यज्ञराज गिरी, नार्कका सानुकेसरी बज्राचार्यलगायतको सहभागिता रहेको थियो ।