पाल्पा। सदरमुकाम तानसेनको टुँडिखेल नजिकै रहेको ऐतिहासिक वीरेन्द्र फूलबारीको अवस्था नाजुक बन्दै गएको छ ।
तानसेनको विकासमा थप टेवा पु¥याउने उद्देश्यले झन्डै ३६ वर्ष अगाडि निर्मित सो फूलबारी यतिखेर स्याहार संरक्षणको पर्खाइमा छ । तानसेन नगरपालिका प्राङ्गणको टँुिडखेल मैदान, बसपार्क नजिकै रहेको वीरेन्द्र फूलबारीले जो कोहीलाई मोहित पारेको थियो ।
अहिले यसको स्याहारसुसारमा कसैले चासो नदिएका कारण नाम मात्रको फूलबारी बन्न पुगेको छ । विसं २०३७ मा नगरका तत्कालीन प्रधानपञ्च विन्दुप्रसाद नेपालीले आफ्नै रेखदेखमा निर्माण गरेको फूलबारी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले सोही साल फागुन ७ गते उद्घाटन गर्नुभएको थियो ।
यहाँ ३० प्रजातिका फूल रोपिएको थियो । फूलबारीभित्र तत्कालीन राजा वीरेन्द्रको सालिक समेत निर्माण गरिएको छ । स्याहार संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिँदा फूलबारीको सौन्दर्य र महत्व हराउँदै गएको छ । पर्यटन विकासका लागि सहयोग पुग्ने फूलबारीको लथालिङ्ग भताभुङ्ग अवस्था देखेर तानसेन भित्रिएका पर्यटकले चिन्ता व्यक्त गरेको स्थानीयवासी कमल ढकाल बताउनुहुन्छ ।
यसलाई व्यवस्थित गर्न सकिएकामा तानसेन आउने पर्यटकको रोजाइ वीरेन्द्र फूलबारी बन्नेछ । फूलबारी नै छेक्ने गरी दिनहुँ सवारी साधन पार्किङले यसको सौन्दर्य नै खस्किँदै गएको छ ।
पहिले पहिले यहाँ दिनमा दुई पटक सिँचाइ गर्ने, संरक्षण गर्ने र हेरचाह गर्ने छुट्टै व्यक्ति थिए । पछि पछि यसको स्याहारमा कमैले चासो देखाउँदै गएपछि मगमगाएर सुगन्ध आउने फूलबारी अहिले ओझेलमा परेको छ । फूलबारीको व्यवस्थापन गर्न सके प्रशस्त आम्दानी लिन सकिन्छ ।