चितवन । भारतमा बर्डफ्लु देखिएपछि यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् ।
सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अण्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न नदिइएको बताए । दाउन्ने ट्रेडर्स प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलले क्रेट, कार्टुन पहिलेदेखि नै नयाँ मात्रै प्रयोग हुँदै आएकामा यसलाई कडाइ गरिएको बताए । पोल्ट्रीजन्य पदार्थ बोकेका गाडी धोएरमात्र एकपछि अर्काे काम गरिँदै आएको बताउँदै उनले जैविक सुरक्षामा ध्यान दिन सके रोग भित्रिन नपाउने उल्लेख गरे ।
नेपाल अण्डा उत्पादन सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सबै किसान र व्यवसायीलाई जैविक सुरक्षामा हेलचक्र्याईं नगर्न सूचित गरिएको बताए । पंक्षीलाई खुल्ला रुपमा छोडेर नपाल्न, घरपालुवा पंक्षीलाई जङ्गली जनावरको सम्पर्कमा जान नदिन र मरेका पंक्षी तथा सङ्क्रमित वस्तु जथाभावी नफाल्न सबैमा अनुरोध गरिएको उनले बताए ।
व्यवसायीले पंक्षी राखेको फार्म नियमित रुपमा निःसङ्क्रमण गरिरहेका छन् भने हाँस तथा कुखुरालाई मिसाएर पाल्न छाडेका छन् । बिक्रीका लागि बजार पठाएका कुखुरा र कुखुराजन्य पदार्थ फार्ममा फिर्ता ल्याउने क्रम बन्द भएको छ । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले भारतीय सीमा क्षेत्रमा अनुगमन गर्न लागेको बताउँदै कुखुरापालक कृषकलाई विगतमा अपनाएका जैविक सुरक्षामा अरु चनाखो हुन आग्रह गरिएको बताए ।
पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष शङ्करप्रसाद कँडेलले विगतको बर्डफ्लुबाट पाठ सिक्दै व्यवसायीले जैविक सुरक्षामा विशेष ध्यान दिएका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताए ।जिल्लामा कुखुराजन्य क्षेत्रमा रू. ७५ अर्बको हाराहारीमा लगानी भएको व्यवसायी बताउँछन् । तथ्याङ्क विभागले गतवर्ष गरेको सर्वेक्षणअनुसार चितवनमा ५३ लाख, ६२ हजार ५९१ ब्रोइलर र ४० लाख ६८ हजार ६६५ लेयर्स कुखुरा पालिँदै आएको छ । यो सङ्ख्या नेपालको ब्रोइलर पालनमा १० दशमलव २ र लेयर्समा ५८ दशमलव ९ प्रतिशत हो ।
तीन वर्षअघि नेपालमा बर्डफ्लुका कारण पोल्ट्री व्यवसायमा ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो ।