म्याग्दी । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको लेकफाँट गाविस ८ डाँडाकटेरी गाउँका बासिन्दा व्यावसायिक खरायो पालनतर्फ आकर्षित भएका छन् ।
भेडा बाख्रा पाल्नभन्दा सहज र छोटो समयमा धेरै फाईदा लिन सकिने भएकाले कृषकहरुले खरायोमा लगानी गरेका हुन् । डाँडाकटेरीका २३ घरधुरीलेनै खरायो पालन व्यवसायलाई आफ्नो मुख्य व्यवसायका रुपमा अपनाएका छन् । प्रत्येक घरमा १० देखि २० ओटासम्म खरायो पालेका छन् ।
मासु उपभोगका लागि कुखुरा, बाख्रा र भेडाभन्दा पनि सहज भएको र उत्पादन भएजति गाउँबाटै बिक्री हुने भएकाले डाँडाकटेरीका सबै बासिन्दाहरुले खरायो पाल्न थालेको स्थानीय गमवहादुर पाइजाले बताए । खरायोपालनबाट वार्षिक ३० देखि ५० हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको उनले बताए । डाँडाकटेरीबासीले विगत १० वर्षदेखि व्यावसायिक रुपमा खरायो पाल्दै आएका छन् । बजारमा स्थानीय जातको कुखुराको मासुको प्रति किलोग्राम ४ सय रुपैयाँ पुगेको छ भने खरायोको मासुको मूल्य भने प्रतिकिलोग्राम ३ सय रुपैयाँ रहेको छ । म्याग्दीको बेनी, पर्वतको कुश्मा र बाग्लुङमा खरायो बिक्री हुने गरेको स्थानीय कृषक हरि पुनले जानकारी दिए ।