रुपन्देही । बुटवलमा दैनिक रुपमा ३५ क्विण्टलसम्म सुन्तला भित्रन थालेको छ। कात्तिक महीना शुरु भएदेखि नै बजारमा सुन्तलाको खरीद/बिक्री शुरु भए पनि रुपन्देहीमा भने तिहार लगत्तै औपचारिक रुपमा सुन्तलाको कारोबार शुरु भएको हो ।बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले बुटवल कृषि उपज केन्द्रमा अहिले दैनिक ३० देखि ३५ क्विण्टलसम्म सुन्तला भित्रिएको जानकारी दिए । गत वर्ष भन्दा अहिले सुन्तलाको उत्पादन राम्रो रहेको किसानहरुले बताएका छन् ।
‘गत वर्षको तुलनामा सुन्तला राम्रो उत्पादन भएको पाइयो’ अध्यक्ष पन्थीले भने, ‘चार महीने यो छोटो सिजनमा केन्द्रमा रू. ३५ करोडसम्मको कारोबार हुने लक्ष्य छ ।’ बजारमा अहिले सुन्तलाको थोक मूल्य ३५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म रहेको अध्यक्ष पन्थीको भनाइ छ । गत वर्ष केन्द्रमा रू. ३० करोडको सुन्तलाको कारोबार भएको थियो भने करीब तीन सय मेट्रिक टन सुन्तला बुटवल झरेको थियो । अहिले बढेर रू. ३५ करोडसम्म पुग्ने केन्द्रको अनुमान छ । सुन्तला एक वर्ष राम्रो र अर्को वर्ष कम उत्पादन हुने किसानको भनाइ छ ।
केन्द्रमा गुल्मी, पाल्पा, अर्घाखाँची र स्याङ्जाबाट सुन्तला भित्रिने गर्छ । बुटवलमा मात्र अहिले दैनिक एक लाख देखि एक लाख ५० हजार रुपैयाँ सम्मको सुन्तला बिक्री हुन थालेको छ । थोक बजार केन्द्रबाट तराईका २२ जिल्लासँगै पूर्वमा झापा र पश्चिममा कञ्चनपुर महेन्द्रनगरसम्म पुग्ने गरेको छ । बुटवल बजारमा हुने सुन्तलाको व्यापार मध्ये झण्डै ८० प्रतिशत सुन्तला स्याङ्जाबाट आउने गर्दछ । बुटवलमा नेपाली सुन्तला झरेपछि भारतीय सुन्तला प्रतिस्थापित भएको छ । तर नेपाली सुन्तलाको बजार सकिएपछि (माघपछि) पुनः भारतीय सुन्तला नेपालमा भित्रिने गर्छ । भारतबाट यहाँ प्रत्येक वर्ष ५० करोड रुपैयाँ सम्मको सुन्तला आउने केन्द्रको भनाइ छ ।
अहिले रुपन्देही बजारका चोक–चोकमा हरेक ठेलाहरुमा सुन्तलाको व्यापार शुरु भएको छ । ‘जाडो सिजन भए पनि ग्राहकहरुको मुख्य रोजाई भनेको सुन्तला नै हुन्छ’ बसपार्कमा ठेलामा फलफूलको व्यापार गर्दै आएका तोयानाथ खनालले भने, ‘जाडो बढ्दै गएपछि कारोबार पनि दोब्बर हुँँदै जान्छ ।’ रुपन्देहीको मुख्य बजार बुटवल र भैरहवाका विभिन्न चोक–चोकमा सञ्चालनमा रहेका ठेला व्यापारीहरुले पनि अन्य फलफूलको तुलनामा सिजनको बेला आफूहरुले सुन्तला बढी बेच्ने गरेको अनुभव सुनाए ।तर प्रत्येक वर्ष सुन्तला बिक्री गर्दा आफूहरुले मूल्य पाउन नसकेको किसानले गुनासो गर्छन् ।