अर्घाखाँची। अर्घाखाँचीका किसान हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीले सहुलियत अनुदानमा ट्रयाक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्रयाक्टरको प्रयोग बढाएका हुन् । जिल्ला कृषि विकास कार्यालयले गत असोज महिनामा थप २० वटा हाते ट्रयाक्टर वितरण गरेको छ ।
यस आर्थिक बर्षमा कृषि प्रसार कार्यक्रम अन्तरगत २० वटा हाते ट्रयाक्टर केहि महिना अगाडि ब्यतिगत तथा कृषक समुह तथा सहकारीले ५० प्रतिशत अनुदानमा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योग प्रसाद खरेलले जानकारी दिएका छन् ।
गएको असारमा पनि कृषक , समुह तथा सहकारीलाई पचास प्रतिसत अनुदानमा २० वटा पावर टेलर वितरण गरिएको थियो । परम्परागत रुपमा गोरु जोतिने स्थानमा पावरटेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरेको उनको भनाई छ ।गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्रयाक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने बताएका छन् ।मुख्य गरेर तरकारी खेती गर्ने किसानले सबैभन्दा बढी ट्रयाक्टरको माग गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरीलाल गैरेले जानकारी दिनुभयो । ‘खेतको कुनाकाप्चासम्म सजिलै जोत्न सकिने भएकाले किसानले यसको महत्व बुझ्दै गएका छन्’- उनले भने ।कृषिमा यान्त्रीकरणको प्रयोग गर्नेको सङख्या आगामी आर्थिक वर्ष अझ बढ्ने जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।









