चितवन । माडीमा व्यवसायिक रुपमा रेशमपालन हुँदै आए पनि पछिल्ला वर्षहरुमा रेशम खेतीमा आकर्षण घट्दै गएको छ ।
थोरै लगानी र सानो क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सकिने भए पनि यस व्यवसायलाई अगाल्ने कृषकहरु विविध कारणले अन्य पेसा व्यवसायतर्फ लाग्दा यसको संख्या घट्दो छ । यस व्यवसायबाट अन्य व्यवसायबाट जस्तो आम्दानीको स्तर नबढेको कारण कृषकहरु अन्य पेसा व्यवसायमा लाग्ने गरेको माडीका स्थानीय रामकृष्ण गोतामेले बताए ।
सरकारी प्रोत्साहन र किसानको पनि दृढ संकल्प नहुँदा रेशम खेती ओझेलमा पर्दै गएको किसानहरु बताउँछन् । किसानलाई आवश्यक प्राविधिक सहयोग र अनुदान एकदमै न्यून हुँदा रेशम खेती संकटमा पर्न थालेको स्थानीय गोतामेले बताए । उनका अनुसार रेशम खेतीका लागि कम्तीमा १० देखि १२ रोपनी जग्गामा किम्बु लगाउनुपर्ने भएकाले त्यसबाट उत्पादन लिन कम्तीमा पनि २ वर्ष पर्खनुपर्छ । २ वर्षसम्म पर्खेर लगाइएको व्यवसायबाट सोचे जस्तो आम्दानी र सफलता नपाएपछि व्यवसायिक खेती गर्दै आएका किसानले अहिले व्यवसाय परिवर्तन गर्न थालेका छन् । रेशमपालनका लागि बेलैमा सचेत नहुने हो भने आउने दिनमा थप संकटको अवस्था सिर्जना हुने भन्दै चासो दिनुपर्नेमा उनले जोड दिए ।
किम्बुका विरुवा उत्पादन गर्न आवश्यक जग्गा नहुँदा माग अनुसार अघि बढ्न नसकेको व्यवसायीको भनाइ छ । माडीको राधापुर, स्वाउलीबास, लक्ष्मीबास, देवेन्द्रपुर क्षेत्रमा रेशम खेती हँुदै आए पनि व्यवसाय अन्य क्षेत्रमा विस्तार नहुनु , नयाँ सम्भावना र प्रविधिको खोजी नहुनुले यसको उत्पादन बर्सेनि घट्दै गइरहेको छ । त्यसकारण कृषक यस पेसाबाट कम सन्तुष्ट भएको अर्का स्थानीय कृषक डासीराम तिवारीले बताए ।