बर्दिया । सरकारले कृषकलाई उपलब्ध गराएको अनुदानको धानको बीउमा मिसावट हुँदा कृषक मारमा परेका छन् ।
राष्ट्रिय बीउबिजन कम्पनीले अनुदानमा वितरण गरेको मकवानपुर–१ जातको बीउमा विभिन्न १६ किसिमको धान फलेपछि कृषक मर्कामा परेका हुन् । बीउमा मिसावट भएकै कारण थरिथरिका धान पसाउँदा धानको उत्पादन घट्ने भन्दै कृषकले क्षतिपूर्ति पाउनुपर्ने माग समेत राखेका छन् ।
बीउबिजन कम्पनीले जिल्लाका कृषकलाई ४० प्रतिशत अनुदानमा यस वर्ष ३५० टन मकवानपुर– १, राधा ४, राम धान र सावित्री जातको धान वितरण गरेको थियो । “उन्नत जातको बीउ भन्दै कम्पनीले हामीलाई ठग्यो,” पाताभार–१, बगहीपुरका रमेशकुमार वैद्यले भन्नुभयो ।
कम्पनीले जिल्लाका २८ सहकारी संस्थामार्फत बीउ वितरण गरेको थियो । राजापुर क्षेत्रमा रहेको बिहानी मध्यवर्ती बहुउद्देश्यीय सहकारी संस्था पाताभार र हथियाबाबा कृषि सहकारी संस्था राजापुरले वितरण गरेको ४०० बोरा मकवानपुर–१ जातको धानमा मिसावट भएको पाइएको हो ।
कम्पनीबाट उपलब्ध भएको २२० बोरा बीउ बिहानी मध्यवर्ती बहुउद्देश्यीय सहकारीले पाताभार गाविसका १७९ कृषकलाई वितरण गरेको थियो । मकवानपुर जातको धान भनेर लगाएको खेतमा विभिन्न जातका धानका बाला लागेको सो सहकारीका अध्यक्ष दयाराम वैद्यले बताउनुभयो । कृषकलाई सहजताका लागि वितरण गरे पनि सरकारी अनुदानको बीउ नै मिसावटयुक्त परेपछि दिनहुँ किसान क्षतिपूर्ति माग्दै कार्यालयमा आइरहेको उहाँको भनाइ छ ।
खाद्य अधिकारको क्षेत्रमा कार्यरत संस्था ‘फियान नेपाल’का अशोकबहादुर सिंहले अनुगमनका क्रममा दोलखा, धादिङ र बर्दियामा धानको बीउमा मिसावट भएको पाइएको बताउनुभयो । “राजापुर क्षेत्रमा मकवानपुर–१ जातको धानमा तीनदेखि १५ प्रकारका बीउ मिसावट भएको पाइएको छ,” अनुगमन गरी फर्केका जिल्ला खाद्य अधिकार सञ्जालका सचिव जनकराम चौधरीले भन्नुभयो ।
अनुदानमा दिएको बीउबारे कृषक तथा सहकारी संस्थाका पदाधिकारी गुनासो पोख्न दैनिक जिल्ला कृषि विकास कार्यालय धाउने गरेका छन् । राष्ट्रिय बीउबिजन कम्पनीका प्रतिनिधि कार्यालयको बैठकमा उपस्थित भएपछि मन्त्रालयलाई क्षतिपूर्तिका लागि प्रतिवेदनसहित अनुरोध गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख परसुराम रावतले बताउनुभयो ।
राष्ट्रिय बीउबिजन कम्पनीको नेपालगन्जस्थित कार्यालय प्रमुख मेहन्दी हुसेनले केही मात्रामा बीउमा मिसावट भएको स्विकार गर्नुभयो । “उन्नत जातको बीउमा अली अली मिसावट त हुन्छ,” उहाँले भन्नुभयो ।