बाँके। नेपालमै पहिलो पटक सरकारले किसानलाई मोबाइल सेट सहित किसान सिम कार्ड वितरण गरेको छ । बुधवार बाँके जिल्लाको नेपालगञ्जस्थित जिल्ला कृषि विकास कार्यालय परिसरमा कृषि विकास मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले एक समारोहका बीच उद्घाटन गरि वितरण गर्नुभएको हो ।

कृषि उत्पादनमा पर्नसक्ने नकारात्मक प्रभाव कम गर्न सहयोग पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको जलवायु प्रकोप समुत्थान निर्माणसम्बन्धी नमुना कार्यक्रम आयोजनाको कार्यान्वयनका लागि कृषि मन्त्रालयले आज किसानहरुलाई निःशुल्क ‘किसान सिम’ वितरण गरेको हो ।

कृषि व्यवस्थापन सूचना प्रणालीको विकास गरी कृषि उत्पादन र उत्पादकत्व बढाउन कृषि मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यमा उक्त अभियान ल्याइएको हो ।

जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका आयोजना निर्देशक शिवनन्द प्रसाद साहले १० वटा मोइबाइल सेट सहित पाँच पाँच वटा किसान समूहलाई नमूका रुपमा वितरण गरिएको जानकारी दिनुभयो ।

किसानलाई तत्काल सन्देश पठाउन सजिलो होस् भनेर उक्त आयोजनाले रु १०० को ‘ब्यालेन्स’ रकमसहित २५ जिल्लाका पाँच हजार ५०० किसानको हातमा किसान सिम पु¥याउन लागिएको आयोजना निर्देशक साहले जानकारी पनि दिनुभयो ।

उहाँका अनुसार आयोजनाले किसानलाई स्तरीय सेवा प्रवाह गर्न ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन, कृषि–पूर्वसूचना प्रणाली, टल फ्री नम्बर, आवाज सूचना (अडियो नोटिस), कृषि–इन्फोजस्ता सूचनामूलक कार्यहरु सुरु गरिएको छ ।

उदघाटन समारोहलाई सम्बोधन गर्दे कृषि विकास मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले सही समय सही सूचना पाउने किसानको हकलाई किसान सिम कार्डले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले किसानहरुलाई कुन मौसमका के गर्ने भन्ने थाहा नहूँदा निकै समस्या झेलिरहेका किसानहरुलाई अब मौसम सम्बन्धी पूर्ण सूचनाले ठुलो सहयोग पु¥याउने सचिव ठाकुरको भनाई थियो ।

एन्ड्रोइड स्मार्ट–फोन भएका किसानले हाम्रो कृषिएप्स मौसमसम्बन्धी जानकारी, कृषि र प्रविधि, कृषि कार्यालयका सम्पर्क नम्बरहरु, बीमा अभिकर्तासम्बन्धी जानकारी र अन्य सफलताका कथाहरु प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, खाद्यान्न, पशुपालन, तरकारी, फलफूल, तेलहनलगायत सबै बालीका विवरण, बालीमा मौसमी प्रभावले लाग्ने रोग र किरा तथा त्यसको निदानका बारेमा पनि जानकारी दिइनेछ ।

किसानले इन्टरनेट पहुँच भएको स्थानमा गएर मोबाइल एप्स डाउनलोड गरेपछि इन्टरनेट बिना नै सम्पूर्ण सेवा प्राप्त गर्नसकिने छ ।
किसानको लागि सरकारले प्रविधिमैत्री खुशीको खबर ल्याएको छ । सरकारले किसानका लागि निः शुल्क ‘किसान सिमकार्ड’ को सुविधा ल्याउने तयारी गरेको छ ।