पोखरा । पोखरा उपमहानगरपालिका– १७ बिरौटाकी मन्जिता भण्डारीले भाडामा लिएको ६ रोपनी जग्गामा लगाएकोे फूलखेतीबाट मनग्य आम्दानी गर्दैआएकी छन् । असोज महीनाको दोस्रो सातायता उनले फूल बिक्रीबाट रू. ५० हजार आम्दानी गरेकी छन् । रू. सात लाख कमाउने भण्डारीको लक्ष्य छ । फूलखेती गर्न उनले रू. दुई लाख ५० हजार खर्च गरेकी छन् । तिहारलाई लक्षित गरी लगाइएका ४ सय ४५ कोलकतिया र ४ सय ४० मेरिगोल्ड जातका फूल बारीबाटै प्रतिथुङ्गा रू. पाँचका दरले बिक्री गर्ने गरेको भण्डारीको भनाइ छ ।
बाराही नर्सरीका सञ्चालक भण्डारीले विगत तीन वर्षदेखि फूल व्यवसायमा संलग्न छिन् । पोखरामा फूलको माग अत्यधिक भए पनि बीउ, बेर्ना, मल र कामदारको अभाव छ । ‘फूलको आयात रोक्नुपर्छ,’ उनले भनिन् । कोलकतिया जातका फूलका बिरुवा हेटौँडाबाट ल्याइएको हो ।
पोखरा र यसआसपासको क्षेत्रमा करीब रू. २० करोड बराबरको फूल उत्पादन भए पनि यसले बजारको माग ७५ प्रतिशतमात्र पूरा गर्न सकेको फ्लोरिकल्चर एशोसियशन कास्कीका अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।