नयाँ दिल्ली। भारतको थोक मुद्रास्फीति सेप्टेम्बरमा ३.५७ प्रतिशतमा झरेको छ । तरकारीलगायत दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य ओरालो लागेपछि समग्र थोक मुद्रास्फीति घटेको हो ।मूल्य वृद्धिको वार्षिक दरको प्रतिनिधित्व गर्ने थोक मूल्य आधारित मुद्रास्फीति अगस्टमा ३.७४ प्रतिशत रह्यो । सन् २०१५ को सेप्टेम्बरमा थोक मुद्रास्फीति माइनस ४.५९ प्रतिशत थियो ।
तरकारीमा थोक मूल्य सूचक सेप्टेम्बरमा ओरालो लागेको छ । सेप्टेम्बरमा यो माइनस १०.९१ कायम भएको छ । यो वृत्तमा जुलाईमा मुद्रास्फीति २८.४५ प्रतिशत थियो । दालमा मूल्यवृद्धि लगातार उकालो लागेको छ । सेप्टेम्बरमा मात्रै दालको मूल्यवृद्धि २३.९९ प्रतिशत भएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
दैनिक उपभोग्य वस्तुका रूपमा रहेको आलुमा अधिक मुद्रास्फीति भएको छ । यसमा ७३.३१ प्रतिशतको मुद्रास्फीति भएको छ । यसैगरी उक्त महिनामा फलफूलमा मुद्रास्फीति १४.१० प्रतिशतले उकालो लागेको छ ।
समग्रमा सेप्टेम्बरमा खाद्यवस्तुको मुद्रास्फीति ५.७५ प्रतिशतमा झरेको छ । यो अगस्टमा ८.२३ प्रतिशत थियो । २०१४ को नोभेम्बरदेखि २०१६ को मार्चसम्म ऋणात्मक क्षेत्रमा रहेको डब्लूपीआई अगस्टसम्मको ६ महिनाको अवधिमा उकालो लागेको थियो । सेप्टेम्बरमा मुद्रास्फीति मन्द भएको छ ।
सेप्टेम्बरमा उत्पादनमूलक वस्तुको मुद्रास्फीति २.४८ प्रतिशत रह्यो । यो अगस्टमा २.४२ प्रतिशत थियो । चिनीको मुद्रास्फीतिको दर ३२.९२ प्रतिशत रह्यो । पेट्रोलको मुद्रास्फीति भने १.२५ प्रतिशत रह्यो ।जुलाईका लागि डब्लूपीआई मुद्रास्फीतिलाई समीक्षात्मक रूपमा बढाएर ३.७२ प्रतिशत पु¥याइएको छ । अघिल्लो अनुमानमा यसलाई ३.५५ प्रतिशत राखिएको थियो ।