नेपालगन्ज। भारतबाट रुपैडिया नाका हुँदै तीन महिनाभित्र ५० हजारभन्दा बढी खसी–बोका नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले जनाएको छ । गत साउनयता मुस्लिमहरूको पर्व बकर इद र दसैंलाई लक्षित गरेर ठूलो संख्यामा खसी–बोका नेपाल भित्र्याइएका हुन् ।
पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख शंकर पाण्डेले दसैंका बेला एक साताभित्रै ५ हजारभन्दा बढी खसी–बोका भित्रिएको बताए । साउन र भदौमा मात्र करिब ३५ हजार खसी–बोका भित्रिएको पशु क्वारेन्टाइनले जनाएको छ ।
नेपालगन्ज नाकाबाट सबैभन्दा बढी खसी–बोका भित्र्याइने गरेको छ । भारतको बहराइच, नानपारा र झाँसीमा लाग्ने हाटबजारबाट बढी खसी–बोका ल्याइएको व्यापारीहरूले बताएका छन् ।
सीमानामा रहेको पशु क्वारेन्टाइन कार्यालयका अनुसार, चालू आर्थिक वर्षमा ५० हजार ७ सय ७८ खसी–बोका आयात गरिएको छ । तीमध्ये साउनमा १५ हजार ४ सय ४४, भदौमा १८ हजार ८ सय ४४ खसी–बोका भित्रिएका छन् । त्यसैगरी असोज महिनाको अहिलेसम्म १७ हजार बढी खसी–बोका भित्रिसकेका छन् ।
भदौ र असोजमा दसैं लक्षित गरी खसीबोका भित्र्याइएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख पाण्डेले बताए । उनले यो आर्थिक वर्षभित्र करिब ६५ करोड रुपैयाँबराबरका खसी–बोका आयात भएको जानकारी दिए ।
बाँकेका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन हुने खसी–बोकाले यहाँको ९० प्रतिशत माग पूरा गरेको छ । भारतबाट आयात गरिने खसी–बोका बाँँकेका लागि १० प्रतिशत मात्र आयात गरिने र अधिकांश खसी–बोका काठमाडौं, पोखरालगायतका सहरमा पठाइने गरिएको छ ।