काठमाडौं । यस वर्ष नेपालमा तीन अर्ब तीन करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भैँसी, खसीबोका र बाख्रा आयात भएको छ ।भन्सार विभागले (आव ०७२/७३) मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका दुई देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ ।
भारतबाट राँगा र भैँसी दुई लाख ४७ हजार २ सय २५, खसीबोका र बाख्रा २६ लाख ४८ हजार ५ सय ४१ र अस्ट्रेलियाबाट चार लाख ७९ हजार १ सय ३४ ओटा खसीबोका र बाख्रा आयात गरिएको थियो । सबैभन्दा धेरै भारतबाट जम्मा रू. तीन अर्ब ४१ लाख ९८ हजारको र अस्ट्रेलियाबाट खसीबोका र बाख्रा गरी रू. तीन करोड ४८ लाख ८९ हजारको आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
गत पुस ९ गते पशुपंक्षी विकास मन्त्रालय गठन पछि मन्त्रालयले औपचारिक रुपमा यसअघि अण्डामा एक, दूधमा दुई र मासुमा तीन वर्षभित्र आत्मनिर्भर भइसक्ने जनाए पनि मासुमा परनिर्भरता बढ्दै गएको देखिन्छ । तीन महीनाअघि मन्त्रालयले सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धताअनुसार आगामी तीन वर्षभित्र नेपाल मासुमा आत्मनिर्भर हुने मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले बताए ।
पशुपन्छी पालनको क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत र कुल कृषिको गार्हस्थ्य उत्पादनमा करीब २६ दशमलव शून्य आठ प्रतिशत योगदान छ । दिगो पशुजन्य उत्पादनमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न राष्ट्रिय पशुपंक्षी पालन नीति छ महीनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ ।
त्यसैगरी पशु स्वास्थ्य तथा पशुसेवा ऐन, पशु बधशाला तथा मासु जाँच ऐन, दाना ऐन, र बीमा ऐन परिमार्जनका साथै पशु कल्याण ऐन, पशुपंक्षी व्यवसाय प्रवद्र्धन तथा बजार ऐन, पशु औषधि ऐन र पशु सरुवा रोग ऐन तर्जुमा गरी दिगो आर्थिक विकास हासिल गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।
मासुमा मुलुक आत्मनिर्भर छैन । पुगनपुग कुखुराको मासुमा आत्मनिर्भर भए पनि माछामा ७०, राँगामा ६० र खसीबोकामा ७० प्रतिशत मासु भारतबाट आयात भइरहेको पशुपंक्षी विकास विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार ०७१/७२ मा माछाबाहेक कुल दुई लाख ९८ हजार दुई सय ४४ मेट्रिक टन मासु उत्पादन भएको छ । जसमध्ये राँगा÷भैँसीको एक लाख ७३ हजार ९ सय ६, खसी बोका ५९ हजार ५३, बङ्गुर १९ हजार २ सय ६९, कुखुरा ४३ हजार १ सय ३३, भेडा÷च्याङ्ग्रा दुई हजार ६ सय ५६ र हाँस २ सय २७ मेट्रिक टन उत्पादन भएको थियो ।