भक्तपुर। मध्यपुर थिमि नगरपालिका– १६ लोकन्थलीका कृषक जगतबहादुर प्रजापति स्थानीय जातको नेपाली पालुङ्गोको बीउ खरिद गर्न पटक÷पटक भक्तपुर पुग्नुभयो । तर उहाँले बीउ खरिद गर्नुभएन । गत वर्ष एक पाथीको रु ५०० मा खरिद गरेको पालुङ्गोको बीउ यस वर्ष रु ८०० पुगेपछि बीउ खरिद नगरेको उहाँ बताउनुहुन्छ ।

त्यसैगरी गत वर्ष प्रतिकिलो रु १८० मा खरिद गरेको नेपाली लसुनको बीउ यस वर्ष रु ३२५ मा खरिद गर्नुपरेको अर्का कृषक कृष्णबहादुर प्रजापतिले बताउनुभयो ।

बजारमा यतिखेर हरियो तरकारीको मूल्य अकासिएको छ भने भान्सा चलाउन मुस्किल भएको छ । तर तरकारी उत्पादन गर्ने कृषकको लगानी, उनीहरुको परिश्रम र सरकारले उपलब्ध गराएका सेवा सुविधाबारे भने कसैले वास्ता नगरेका कृषकले गुनासो गरेका छन् ।

उत्पादित तरकारी बिचौलिया व्यापारीले थोक मूल्यमा बारीबाटै उठाउने र त्यसलाई उपत्यकाका विभिन्न बजारमा पुनः स–साना तरकारी व्यापारीलाई बिक्री गर्छन । यसरी उत्पादित तरकारी कम्तीमा दुईजना व्यापारीले नाफा लिएपछि मात्र उपभोक्ताको भान्सामा पुग्छ ।

तरकारीको मूल्य वृद्धिको दोष कृषकलाई दिनु उचित नभएको मध्यपुर थिमि– ७, नगदेशका कृषक कृष्णबहादुर सिकेमनको भनाइ छ ।
तरकारीको बिउको मूल्य गत वर्षको तुलनामा ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ । तर किसानलाई सरल, सहज र सस्तो मूल्यमा तरकारीको बीउबिजन उपलब्ध गराउने सरकारी योजना तथा नीति भने शून्य छ । तरकारीको बीउ बिजनबारे सरकारी अनुगमन नहुँदा बजारमा मनपरी मूल्य तोक्ने गरेका नगदेशका अर्का कृषक रामकृष्ण घजु बताउनुहुन्छ ।
कृषकले अहिले गाँजरको बीउ प्रतिकिलो रु १७ हजार तिर्नुपरेको छ । तीन वर्षअघि प्रतिकिलोको रु १२ हजार थियो । मध्यपुर थिमि– १७, सानो थिमिस्थित नाटेश्वर बीउबिजन पसलका सञ्चालक सन्मान मन्तासिरका अनुसार बन्दागोभीको बीउ १०० ग्रामको मूल्य गत वर्ष रु ३५० थियो भने यस वर्ष रु ७०० पुगेको छ ।

कालो रायोको बीउ १० ग्रामको रु ११०, ब्रो काउली १० ग्रामको रु ७००, मुला १०० ग्रामको रु एक हजार ३००, सेतो सलगम सय ग्रामको रु दुई हजार ५०० र धनियाँ आधा किलोको मूल्य रु ३०० पर्छ ।

त्यसैगरी जिल्लामा उत्पादन भएका लोकल बीउमा चम्सुर मानाको रु २००, पालुङ्गो एक पाथिको रु ८००, रायो एक किलोको रु ४००, गाठेमूला एक मानाको रु २५०, चाइनिज प्याज एक मानाको रु ५००, मद्रासी प्याज एक किलोको रु एक हजार र नेपाली प्याज एक किलोको मूल्य रु दुई हजार ५०० रहेको छ ।

कृषि मजदुरको दैनिक ज्यालामा समेत अत्याधिक वृद्धि भएको छ । दुई वर्षअघि दैनिक रु २५० ज्याला भएकोमा हाल रु ५०० भएको छ । त्यस्तै रासायनिक मल, कृषिमा प्रयोग हुने अन्य सामग्रीको समेत अत्याधिक मूल्य वृद्धि हुँदा पनि कृषि कार्यालयले बजार अनुगमन तथा मूल्य नियन्त्रणको प्रयास नै नगरेको कृषकको गुनासो छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले बीउबिजनको मूल्य वृद्धिबारे कृषकका गुनासो र उजुरी नआएको बताउनुभयो । भक्तपुरका कृषक आफैँं बीउ उत्पादन गर्ने भएकाले कार्यालयले बीउ उपलब्ध नगराएको उहाँको भनाइ छ । “कृषक बीउबिजनको माग गर्न आएका छैनन्,” उहाँले भन्नुभयो । भक्तपुरमा कृषकले आफूलाई पुग्ने बीउ आफैँं उत्पादन गरेको पाइएको छ ।