बर्दिया। बर्दियाको सोरहवा–२, जगतपुरका माछापालक कृषक पुष्पराज भूषाललाई दिनहुँ नया रोगले धमाधम माछा मर्न थालेपछि चिन्ताले सताएको छ ।
०६९ सालदेखि ५ वर्षका लागि १ करोड ८ लाखमा ७५ हेक्टर बढैयाताल ठेक्कामा लिई माछापालन गर्दै आएका भुसालले एक महिनायता करिब ३० हजार माछा मरिसकेको बताए ।
केन्द्रीय मत्स्य प्रयोगशाला बालाजुबाट आएका विज्ञले पानीको गुणस्तर जाँच गरी सुझाएको औषधि प्रयोग गर्दा पनि माछा मर्ने क्रम रोकिएको छैन । ल्याब परीक्षणबिना हचुवाकै भरमा औषधि गर्नुपर्दा माछा मर्ने क्रम नरोकिएको उनको भनाइ छ ।
त्यस्तै सोरहवा–३, बुटाहाका कृषक लल्लुराम थारुले दैनिक २ सयको हाराहारीमा माछा मर्न थालेपछि बैंकको ऋण कसरी तिर्ने भन्ने तनाव बढेको बताए ।
बैंकबाट १० लाख रुपैयाँ ऋण लिएर माछापालन थालेका थारुका दुई सातायता ३ हजारवटा माछा मरिसकेका छन् । पाँच बिघा खेत मासेर माछापालन गरेका थारुले हालसम्म ७ लाख लगानी गरिसकेको बताए । “२ लाखको भुरा स्टक राखेको छु,” उनले भने, “माछा मर्ने क्रम रोकिएन भने म त बर्बादै हुन्छु ।”
पुष्पराज र लल्लुरामको मात्रै होइन माछापालन पकेट क्षेत्र सोरहवाका ८ जना कृषकको करिब ५० हजारवटा माछा मरिसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । माछा मर्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको समन्वयमा केन्द्रबाट टोली आएर पानीको गुणस्तर जाँच गरी अक्सिजनको कमीले मरेको निष्कर्ष निकालेर फर्किएको थियो ।
तर, केन्द्रले सुझाएको उपाय गर्दा पनि माछा मर्नेक्रम नरोकिँदा कृषक झन् चिन्तित बनेका छन् । जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत रामअवतार हरिजनले ल्याब परीक्षण नहुँदासम्म रोग पत्ता नलाग्ने बताए ।