काठमाडौं। नेपालमा गएको वर्ष पशुमा कृत्रिम गर्भाधान गराउनेको संख्यामा न्यून वृद्धि भएको छ । आर्थिक वर्ष ०७१/७२ मा मुलुकभर ४ लाख ८७ हजार ९ सय १० पशुमा कृत्रिम गर्भाधान गराइएकोमा गत वर्ष ४ लाख ९३ हजार ५० वटा गाई–भैंसीलगायत पशुमा कृत्रिम गर्भाधान गराइएको हो ।
गएको वर्ष अघोषित नाकाबन्दीलगायत मुलुकको असहज परिस्थितिले लक्ष्यअनुसार कृत्रिम गर्भाधान गराउन नसकिएको हो । चालू वर्षमा लक्ष्यअनुसार ६ लाख पशुलाई कृत्रिम गर्भाधान गरिने पशु उत्पादन निर्देशनालयले जनाएको छ ।गएको वर्ष पशुपन्छी विकास मन्त्रालयले ‘पशुपन्छीको नश्ल सुधारः उत्पादकत्व वृद्धिको आधार’ नारासहित गाई–भैंसी र बाख्राको कृत्रिम गर्भाधान कार्यक्रमलाई प्रभावकारी बनाई पाँच वर्षभित्र उन्नत नश्लका पशुको संख्या कम्तीमा दोब्बर गरिने प्रतिबद्धता गरेको छ ।
पशु सेवा विभाग पशु उत्पादन निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौड्यालले मन्त्रालयको प्रतिबद्धताअनुसार चालू वर्षमा कृत्रिम गर्भाधान ६ लाख पु¥याउने लक्ष्य राखिएको बताए ।
उनले गत वर्ष मुलुकको राजनीतिक असहज परिस्थितिले लक्ष्यअनुरूप काम गर्न नसकेको बताए । “करिब ४ देखि ६ महिनासम्म अघोषित नाकाबन्दी भएको थियो,” उनले भने, “त्यस अवधिमा राष्ट्रिय पशु प्रजनन केन्द्र, पोखरामा पशुको बीर्य उत्पादन भए पनि इन्धन अभावले कार्यक्रम सञ्चालन भएका स्थानमा पु¥याउन समस्या भयो ।”यद्यपि बन्दका बाबजुत पनि पूर्वाञ्चलको पशु प्रजनन केन्द्र लहान, सुदूर र मध्यपश्चिमाञ्चलका लागि नेपालगन्जलगायतका स्थानमा तरल नाइट्रोजन र जमेको बीर्य ‘सिमेन’ पु¥याएको उनको भनाइ छ ।
निर्देशनालयका अनुसार यस वर्षको लक्ष्यमा पुग्न तरल नाइट्रोजन खरिदको व्यवस्था, ‘प्लान्ट’को सञ्चालन, बीर्य उत्पादनका लागि राँगा, साँढेहरू तयारी अवस्थामा राखिएको छ । गत वर्ष भारतबाट शुद्ध मुर्रा जातको राँगा १३ वटा खरिद गरिएको छ । हालसम्म राँगा र साँढे गरी ४५ वटा संकलन गरिएको अधिकृत डा. पौड्यालले जानकारी दिए ।
यसै वर्ष केही संख्या थप गरेर करिब ५० वटा पु¥याउने उनको भनाइ छ । गएको वर्ष ६ लाख डोजभन्दा बढी जमेको बीर्य उत्पादन गरिएकोमा यो वर्ष त्यसलाई बढाएर ७ लाख पु¥याउने लक्ष्य राखिएको छ । त्यस्तै यो वर्ष करिब २ लाख डोज बीर्य सञ्चित रहेको निर्देशनालयले जनाएको छ । पोखरामा ‘तरल नाइट्रोजन’ उत्पादन गर्ने ‘प्लाण्ट’ सञ्चालनमा आइसकेको भन्दै डा. पौड्यालले यो वर्ष पशु प्रजनन केन्द्र लहानमा ‘प्लाण्ट’ स्थापना गर्ने बताए ।