विर्तामोड। नेपालमा उत्पादित अदुवा भारत निकासी बन्द भएपछि अदुवा किसान तथा व्यवसायी मारमा परेका छन् । गत भदौ १४ गते यता मेची भन्सार कार्यालय काँकरभिट्टा लगायत अन्य नाका हुँदै भारत निर्यात हुने अदुवाको निकासी ठप्प भएको हो ।

नेपाल हुँदै भारत निकासी हुने अदुवामा नेपाली उत्पादन लगायत चिनीयाँ अदुवा समेत हुने गरेको व्यवसायीहरु बताउँछन् । अदुवा व्यवसायी महासंघका महासचिव इन्द्र बुढाथोकीका अनुसार भारतमा ल्याब परीक्षणमा चिनियाँ अदुवामा अखाद्य बस्तु फेला परेको भन्दै भारतले नेपालबाट निकासी हुने अदुवा आयात बन्द गरेको हो ।

नेपालमा उत्पादन हुने काँचो अदुवाको मुख्य बजार पनि भारत नै भएको व्यवसायीहरु बताउँछन् । यो बेला पहाडको प्रमुख कृषि नगदेबालीहरुमध्येको अदुवाको माउ बेच्ने बेला हो । सो खेतीमा आश्रित दशौं हजार परिवारको आम्दानीको मुख्य श्रोत गुम्ने खतरा बढेको किसानहरु बताउँछन् ।

तर अदुवा निकासी बन्द भएको बारे कृषि विकास मन्त्रालय र वाणिज्य मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन् । ति मन्त्रालयका अधिकारीहरुले उक्त कुराको लिखित जानकारी आएपछि मात्र केही भन्न सकिने प्रतिक्रिया दिएका छन् ।

कृषि विकास मन्त्रालयको तथ्यांकमा नेपालमा १८ हजार हेक्टर भन्दा बढी जमिनमा दुई लाख मेट्रिक टन भन्दा बढी अदुवा उत्पादन हुने गर्दछ ।