पर्वत। उत्तरी पर्वतमा उत्पादित कृषि उपज बजारसम्म पु¥याउन ढुवानीको समस्या भएको छ । गाउँमा सडक पुगे तापनि स्तरोन्नति हुन नसक्दा त्यहाँको स्थानीय उत्पादन समयमै बजार पु¥याउन नसकिएको हो । लेखफाँट र शालिजा क्षेत्रका कृषकले गाउँगाउँमा मोटर बाटो पुगे पनि सास्ती बेहोर्नुपरेको बताएका छन् । पर्वतको दुर्गम गाविस मानिने यी दुई गाविसमा मोटर बाटो पुगे पनि यसको स्तरोन्नति नहुँदा सुविधा दिगो बन्न सकेको छैन ।
तरकारी तथा फलफूल खेतीलागायत कृषि उत्पादन गर्दै आएका लेखफाँट र शालिजाका कृषकले आफ्नो उत्पादन बजारमा पुर्‍याउन निकै कठिनाइ बेहोर्नुपरेको छ । उत्पादित वस्तु बजारमा ढुवानी गर्न सहज व्यवस्था नहुँदा बजार नै नपाई कुहिएर जाने गरेको कृषकहरू बताउँछन् ।
लेखफाँट र शालिजा गाविसमा आलु, काउली, बन्दा, धनियाँ, काँक्रा, खुर्सानी, गोलभेँडा र भुइँ स्याउको उत्पादन राम्रो भए पनि यातायातको सुविधा नपुगेकाले बजारमा ल्याउन कठिन भएको लेखफाँट अन्नेचौरका कृषक विनोद पौडेलले बताए । लेखफाँट र शालिजाका अन्नेचौर, गडेखोला, गहते, रातामाटा, एकछाने, भोटेडाँडा, स्वाँरा र लाम्पाटामा विभिन्न तरकारी खेतीका साथै कुवापानी, लोप्रे, डाँडाकटेरी, वनभँडे, ओख्रेनी, पातलेर्खक र शालिजागाउँमा आलु खेती राम्रो हुने भए पनि नाम मात्रको सडकले सुविधाभन्दा सास्ती धेरै दिएको कृषकहरूको गुनासो छ । ‘मोटरबाटो खनिएको त छ तर सुविधा नाम मात्रको भयो,’ युवा व्यवसायी पौडेलले भने, ‘सडक सुविधा नभएका कारण पनि कतिपय कृषकले व्यावसायिक रूपमा कृषि तथा पशुपालन गर्न पाएका छैनन् ।’
लेखफाँट र अन्नेचौरमा व्यावसायिक तरकारी खेती गर्नेले अहिले वार्षिक ३ लाखसम्म बचत गर्ने गरेको, जसमध्ये आलु खेतीबाटै १ लाख रुपौयाँ आम्दानी हुने गरेको लेखफाँट अन्नेचौरका कृषक भीमनाथ पौडेलले बताए । लेखफाँट शालिजा आलुखेतीका लागि आलुको पकेट क्षेत्र मानिए पनि यातायातको सुविधा नहुँदा कृषकहरू पिठ्युँमा भारी बोकेर बजार आई विक्री गर्नुपर्ने बाध्यता छ । वर्षाको समयमा बाटो चिप्लो हुने, बाटोमा पानी जम्ने र सवारीसाधन पाइए पनि त्यसको ढुवानी खर्च धान्नै नसक्ने महँगो हुने भएकाले पनि कृषकहरू सडक सुविधा प्रयोग गर्नबाट वञ्चित भएको शालिजाका कृषक कृष्ण भुसालले गुनासो गरे ।