कञ्चनपुर । कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने भएको छ ।
जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन हुने परियोजनामा ‘पकेट, ब्लक र जोन’मा जग्गालाई विभाजन गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको हो । कञ्चनपुरमा परियोजना सञ्चालनका लागि रू. छ करोड बजेट विनियोजन भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताए ।
पाँच सय हेक्टर जमिनलाई जोन, सय हेक्टर जमिनलाई ब्लक र १० हेक्टर जमिनलाई पकेट क्षेत्र निर्धारण गरी परियोजना अगाडि बढाइने उनले बताए । अधिकृत थापाका अनुसार यहाँ परियोजनाअन्तर्गत एक जोन, दुई ब्लक र ४५ ओटा पकेट क्षेत्र निर्धारण गरिएका छन् । जोन क्षेत्र धान खेतीका लागि छनोट गरिएको छ र ब्लक तथा पकेट क्षेत्रमा व्यावसायिक रुपमा हुने बाली, फलफूल र तरकारी खेती गरिनेछ ।
दीर्घकालीन रुपमा सञ्चालन हुने परियोजनामा कृषिको उत्पादन, यान्त्रीकरण, बजारीकरण, सिँचाइ, प्रशोधन, कृषि शिक्षा, रोगकिरा नियन्त्रण लगायतलाई प्राथमिकतामा राखिएको छ । ‘बजेटको अख्तियारी आएपछि परियोजनाका कार्यलाई बढाउने गरी तयारी गरेका छौँ,’ वरिष्ठ कृषि विकास अधिकृत थापाले भने । परियोजनामा सुदूरपश्चिम क्षेत्रमा कैलालीमा मात्रै गहुँ खेतीका लागि एक हजार हेक्टर क्षेत्रफल जमिन सुपर जोनमा राखिएको छ । देशभर सञ्चालन हुने परियोजनाका लागि रू. पाँच अर्ब ७८ करोड बजेट विनियोजन भएको बताइएको छ ।