डोल्पा। नेपालीको महान् चाड दसँै नजिकिँदै गर्दा डोल्पालीलाई भने खाद्यान्नको चटारो बडेको छ । खाद्य संस्थानले हरेक वर्ष दसँैका लागि सहुलियतमा खाद्यान्न वितरण गर्ने गरे पनि यसपालि समयमै खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्नको चटारो बडेको स्थानीयवासी लवचन्द्र रोकाय बताउनुहुन्छ ।
संस्थानले चामल, नुन लगायतको खाद्यान्न ढुवानी भइसकेको बताए तापनि खाद्य डिपोमा अझै पुगेको छैन । जिल्ला खाद्य व्यवस्था समितिले यस आर्थिक वर्षको चामल ढुवानीका लागि तदारुकता नदेखाउँदा खाद्यान्न ढुवानीमा ढिलाइ भएको हो ।
चामल नेपालगन्ज, दाङ, सुर्खेत लगायतका जिल्लाबाट ठेकेदारले उठाइसकेको र दसँैअघि नै दुनै र जुफाल डिपोबाट चार गाविसका सर्वसाधारणलाई एक महिना बराबरको खाद्यान्न उपलब्ध गराउने समितिका अध्यक्ष्यसमेत रहनुभएका प्रजिअ चेतबहादुर बरालले जानकारी दिनुहुन्छ । तल्लो डोल्पाका सर्मी, कालिका, काइगउँ, लिकु लगायतका डिपोमा खाद्यान्न मौज्दात शून्य हुनुका साथै ढुवानीको व्यवस्थासमेत नभएकाले यसपालि दसँैमा खाद्यान्न नपाइने पक्का भएपछि सर्वसाधारणमा निराशा छाएको स्थानीयवासी भक्तबहादुर बुढाको गुनासो छ ।
सहुलियतको चामल नपाइने भएपछि स्थानीय बजारमा सर्वसाधारण महँगो मूल्य तिरेर चामल, नुन लगायतका खाद्यवस्तु किन्न बाध्य भएको उहाँले बताउनुहुन्छ । उपल्लो डोल्पामा भने चीनको क्याटु लगायतका नाकाबाट चार हजार पाँच सय क्विन्टल खाद्यान्न ढुवानी गरेर भदौ अन्तिम साता नै वितरण गरी सकिएको खाद्य संस्थानको शाखा कार्यालयले जनाएको छ ।गत शुक्रबार बसेको खाद्य व्यवस्था समितिको बैठकले जिल्लाका छवटा डिपोका लागि ३९ हजार पाँच सय क्विन्टल चामल माग गरिएको जिल्ला खाद्य प्रमुख हरिप्रसाद जोशीको भनाइ छ । जिल्लामा भएको उत्पादनले तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले बाँकी नौ महिना संस्थानको चामलको मुख ताक्नुपर्ने डोल्पालीको बाध्यता रहेको स्थानीयवासी चन्द्रबहादुर केसी उल्लेख गर्नुहुन्छ । खाद्य डिपो दुनैमा एक हजार चार सय क्विन्टल र जुफाल डिपोमा दुई सय क्विन्टल खाद्यान्न मौज्दात भएको संस्थानले जनाएको छ ।