पाल्पा। व्यवसायिक रुपमा कृषि गर्ने किसानहरुको लहर बढेसंगै पाल्पाको मदनपोखरामा पहिलो पटक व्यावसायिक रुपमा अनारखेती शुरु गरिएको छ ।

मदनपोखराका स्थानीय बासिन्दा नरेन्द्र पाण्डेयले ३०० वटा बोट लगाएर व्यावसायिक रुपमा अनार खेती सुरु गरेका हुन् । उनले भारतीय जातका मृदुला, सिन्दुरिया, गणेश, इजरायलको वन्डरफूल र अफगानिस्तानको कान्दारी जातका अनारका बिरुवा लगाएका छन् ।

एक पटक लगाएपछि दशौँ वर्षसम्म आम्दानी गर्न सकिने भएकाले व्यावसायिक रुपमा अनार खेती सुरु गरेको उनको भनाई छ । थाइल्यान्ड, इजरायल, भारतलगायत मुलुकको भ्रमणबाट अनारखेती गर्न प्रेरणा मिलेको र खेती गर्न आधुनिक प्रविधि अपनाएको पाण्डेले बताए ।

अनारखेतीको प्रमुख समस्या गभारोबाट जोगाउनु हो । मदनपोखराका किसानले कीटनाशक विषादीको प्रयोग नगरी जालीभित्र उत्पादन गर्ने गरेका छन् ।

दुई वर्षअघि रु ३५ लाखको लागतमा सुरु गरिएको अनार खेतीबाट यस वर्ष उत्पादन भइसकेको र प्रतिकिलो रु २०० मा बिक्री गरिरहेको पाण्डेले बताए ।

आधुनिक प्रविधि अपनाउन सके एक बोटबाट वर्षको दुई पटक २० किलोसम्म अनार फलाउन सकिने कृषि विज्ञको भनाइ छ ।