म्याग्दी। व्यावसायिक सुन्तलाखेती गर्दै आएका भकिम्ली–२ का इन्द्रबहादुर थापाले सहुलियत ब्याजदरको कृषि कर्जाका लागि बेनीमा रहेका बैंकका शाखामा दर्जनाँै पटक धाए। तर सो सुविधा पाएनन् ।

बैंकले उपलब्ध गराउने छ प्रतिशत ब्याजदरको कृषि कर्जा पाउन प्रक्रिया पूरा गर्न झन्जट लागेपछि थापाले बेनीकै सहकारी संस्थाबाट १६ प्रतिशत ब्याजदरमा रु छ लाख ऋण लिएर सुन्तलाखेती विस्तार गरे ।

कृषकले व्यक्ति र सहकारीबाट महँगो ब्याजदरमा ऋण लिएर तरकारी, फलफूलखेती तथा गाईभैँसी, भेडाबाख्रा र कुखुरापालनमा लगानी गर्न बाध्य बनिरहेको अवस्थामा बैंकले सहुलियत ब्याजदरको कृषि कर्जा परिचालन गर्न सकेका छैनन् । “धितो राख्न सडकले छोएको जग्गा, दर्ता भएको व्यवसाय, गाविसको सिफारिस र छिमेकीको सहमति हुनुपर्नेलगायतका प्रक्रिया पूरा गर्दा कृषकलाई झन्जट भएको छ”, थापाले भने – “बैंकको ढिलासुस्ती र झन्जटिलो प्रक्रियाले गर्दा कृषकले सहुलियत ब्याजदरको ऋण पाउन सकेका छैनन् ।”

बैंकहरुले कुल लगानीको १२ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति वनाएको सरकारले सहुलियत ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउनका लागि अनुदानको व्यवस्था गरेको छ । सरकारले तीन प्रतिशत ब्याज तिर्न अनुदान उपलब्ध गराउने र छ प्रतिशत कर्जा लिने कृषक आफैँले तिर्नुपर्ने व्यवस्था छ ।

सहुलियत ब्याजदरमा एक जना कृषकले रु एक करोडसम्म कर्जा लिन सक्छन् । तर अधिकांश कृषक सहुलियत ब्याजदरमा पाइने कृषि कर्जाको बारेमा अनभिज्ञ छन् ।

बेनपा–८ मा भैँसीपालन गरेर दूध बेच्दै आएका कृषक दुर्गाप्रसाद पौडेल बैंकबाट सहुलियत ब्याजदरमा ऋण पाउने सुविधाका बारेमा जानकारी नभएको बताए। व्यवसाय दर्ता नहुने, उमेरको हदवन्दी, धितोयोग्य जग्गाको अभावलगायतका कारणले कृषकलाई सहुलियत ब्याजदरको कर्जा पाउन समस्या परेको छ ।

धितोका लागि सडकले छोएको घरजग्गालाई प्राथमिकता दिइनुले कृषकलाई समस्या भएको हो । बैंकका कर्मचारी भने सहुलियत ब्याजदरको कर्जा लिन कृषक नै नआएको बताउँछन् । कृषि विकास बैंकको बेनी शाखाका प्रबन्धक धनेन्द्र अधिकारीले कृषक सुविधा खोज्न नआएपछि सहुलियत ब्याजदरमा प्रवाह गर्नका लागि प्राप्त बजेट फिर्ता भएको बताए।

शाखामा गत आवमा छ प्रतिशत ब्याजदरमा लगानी गर्न रु ४० लाख बजेट आएको थियो । सहुलियत ब्याजदरको कर्जा लिन एक जना कृषक मात्र आएको तर व्यवसाय दर्तालगायतका कागजात पेस गर्न नसकेको अधिकारीले बताए। “कोही नआएपछि प्राप्त बजेट फिर्ता भयो,” अधिकारीले भने ।

सहुलियत ब्याजदरको कृषि कर्जा पाउन ४५ वर्ष उमेर भएका, व्यवसाय दर्ता भएको, व्यावसायिक योजना वनाएको हुनुपर्नेलगायतका व्यवस्था रहेको छ । गत आवमा सहुलियत ब्याजदरमा लगानी गर्न राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा प्राप्त रु एक करोड बजेट पनि परिचालन हुन सकेन । नौ दशमलव ५ प्रतिशत ब्याजदरको नियमित योजनाको कर्जा प्रवाह भइरहे पनि सहुलियत ब्याजदरको कर्जाप्रति कृषकले नै चासो नदिएको राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक धु्रवराज पनेरुले बताए ।

बैंक कर्मचारी ऋणीले कृषि कर्जा लिएर गैरकृषि र अनुत्पादक क्षेत्रमा लगानी गर्ने, नियमित ब्याज र किस्ता नबुझाउने जस्ता समस्याले जोखिम मोल्न डराउने गरेका छन् । बेनीमा विभिन्न बैंकका १५ वटा शाखाले वित्तीय सेवा दिइरहेका छन् । दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा पनि बैंकको शाखा छन् ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा सहरी क्षेत्र एवम् सडक वरपरका घरजग्गाभन्दा पनि योजना र आयस्तरलाई प्राथमिकता दिनुपर्ने सिंगाका दुग्ध उत्पादक कृषक रमेश केसीको माग छ । बंैक कर्मचारीले भूगोल र सुविधाका आधारमा विभेद नगरी योजना तथा वास्तविकता बुझेर लगानी गर्न सकेमा कृषि कर्जा परिचालनमा सहज हुने केसीको बताउँछन् ।

कृषि कर्जाका बारेमा कृषकस्तरमा प्रचारप्रसार र बैंकलाई लगानी गर्न सहजीकरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए। “बैंकले कृषि कर्जाको सिद्धान्त, उद्देश्य र प्रक्रियाका बारेमा कृषकलाई स्पष्ट पार्न नसकेको पाइयो”, रिजालले भने।