ओखलढुंगा। भूकम्प पीडित किसानहरुका लागि छुट्याएको बजेट गैर भूकम्प पीडितहरुको पोल्टामा परेको कुरा सन्दै आएका ओखलढुंगाका किसानहरुले आफनै नामा आएको रकम समेत पाउन सकेनन् ।

ओखलढुंगामा भूकम्प पीडित किसानलाई जिल्ला पशु सेवा कार्यालयबाट दिइने २३ लाख अनुदान भूकम्प पीडितका नाममा खर्च नगरी फिर्ता भएको छ ।

भूकम्प प्रभावित जिल्लाका पशु पालक किसानलाई बोका पालनमा दिइने अनुदान वितरण हुन नसकेपछि फिर्ता भएको हो । ढिलो अनुदान आउँदा आवेदन माग गररे पशु पालक किसानका फार्मलाई अनुदान वितरण गर्न नसकेपछि बजेट फिर्ता भएको कार्यालयका पशु चिकित्सक रामचन्द्र आर्चायले बताएका छन् ।

असारमा बजेट निकासा आएको र मूल्य अभिबृद्धि करमा दर्ता भएका किसानका फार्मलाई मात्र अनुदान दिन सकिने प्रावधान रहेकाले अनुदान लिन आवेदन नै नआएको उनको भनाई छ ।

पशु पालक किसानहरुले भने कार्यालयले समयमा सूचना नदिएकाले अनुदान लिन नसकिएको गुनासो गरेका छन् । सरकारले दिएको अनुदान किसानलाई वितरण गर्न कार्यालयले चासो नदिँदा फ्रिज भएको उनीहरुको आरोप छ ।