नवलपरासी। नवलपरासी जिल्लाको जमुनिया गाबिस -९ का ऋषिराम पोखरेलले मौरीपालन गर्दा कृषि विकास कार्यालयमा त्यससम्बन्धी कुनै कार्यक्रम थिएन् ।

विसं २०५० देखी रेडियो नेपालमा प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालनका बारेमा सुनेको निकै वर्ष पछि कृषि कार्यालयमा पुगेका पोखरेललाई कुनै पनि कार्यक्रम नभएको बताएपछि रित्तै घर फर्किए । “मौरीका बारेमा बुझ्दा कर्मचारीले मुखामुख गरे । रेडियो सुनेरै धेरैवर्ष मौरीपालन गरे” उनले भने ।

एक ओटा काठको घारबाट मौरीपालन सुरू गरेका पोखरेलसंग अहिले १०० वटाको हाराहारीमा घार छ । आवश्यक परेको बेलामा सरकारी तथा गैरसरकारी संस्थाबाट तालिम तथा प्राविधिक सहयोग नपाएको अवस्थामा सञ्चारमाध्यमको सहयोगमा मौरीपालनमा सफलता मिलेको उनको भनाइ छ । व्यवसायमा सफलता मिलेपछि तालिम र गोष्ठीमा सहभागिताको निम्तो आएको उहाँ बताऊनुहुन्छ ।

नेपाल सरकारले पहिलो पटक नवलपरासी जिल्लामा प्रदान गर्न लागेको युवा सो-रोजगार पुरस्कारबाट कृषि उद्यमीका रुपमा आफू सम्मानित् हुनलागेको खबरले उनलाई थप हौसला मिलेको छ । “आत्मबल बढेको छ” उनले भने । उनी युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्यविधि २०७२ अन्तर्गत छनौटमा परेका हुन् ।

पोखरेलले वार्षिक १००० किलोसम्म मह उत्पादन गरी वार्षिक रु पाँचलाखसम्म आम्दानी गर्ने गरेको बताए । छिमेकीलाई समेत निःशुल्क परामर्श दिने गरेका छन् । पोखरेलको सहयोगमा मौरीपालन गर्नेको सङ्ख्या तीनदर्जन भन्दा धेरै छन् । मौरीसहितको घारलाई रु ६ हजार ७०० र प्रतिकिलो मह रु ५०० मा बिक्री हुने गरेको छ ।

मौरीपालनको अवलोकन गर्ने गरी घारको सङ्ख्या ३०० सम्म बनाउने उनको लक्ष्य रहेको छ । जिल्लामा करिब एक हजार ८०० घार रहेको कृषि विकास कार्यालयसित तथ्याङ्क छ ।

जिल्लामा उत्पादित मह जापान, कोरियासम्म निर्यात हुने गरेको छ । वार्षिक ९ टन मह उत्पादन हुने गरेको छ ।