नेपालगन्ज। बाँकेका थारु समुदायका अधिकांश महिला तरकारीखेती र पशुपालन व्यवसायमा संलग्न भएको पाइन्छ ।

कृषिसँग सम्बन्धित विभिन्न तालिम र बीउबिजन तथा सिँचाइ सुविधा पाएपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित हुन थालेका हुन् । बैजापुर, वनकटवा, कोहलपुर, बिनौना, कचनापुर, फत्तेपुर क्षेत्रका अधिकांश थारु महिला व्यक्तिगत तथा समूहमा तरकारीखेती गर्न थालेका छन् ।

किरण स्वयम् सहायता समूहका अध्यक्ष चैनकुमारी थारुका अनुसार, जीवन परियोजनाअन्तर्गत बेस संस्थाले व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम, बीउबिजन र सिँचाइका लागि निःशुल्क बोरिङ उपलब्ध गराएको छ । उनीहरु समूह बनाएर तरकारीखेती र पशुपालनमा आकर्षित हँुदै गएका छन् ।

परियोजनाले अहिलेसम्म बैजापुर, वनकटवा र साविकको रझेना गाविसमा २६ वटा बोरिङ जडान गरेको छ । परियोजनाअन्तर्गत सिँचाइका लागि रु एक लाखदेखि रु एक लाख ८० हजार मूल्य बराबरको बोरिङ उपलब्ध गराएको छ ।