ललितपुर। गत वर्षको तुलनामा मूल्यमा गिरावट आएपछि बझाङका यार्सा संकलकहरु निराश भएका छन् । गतवर्ष प्रतिकिलो १७ लाख २० हजार रुपैयाँमा जिल्लामै बिक्री भएको यार्साको मूल्य यो वर्ष सात लाख रुपैयाँ मात्र निर्धारण गरिएको छ ।

सोचेअनुसार मूल्य नपाएपछि कतिपयले यार्सा बिक्रीमै आनाकानी गरेका छन् भने कतिपय यो पेशाबाटै पलायन हुन थालेका छन् । अप्रत्यासित ढंगले यार्साको मूल्यमा गिरावट आएपछि बझाङका अधिकांश यार्सा संकलकहरुले यार्सा बिक्री गर्न मानिरहेका छैनन् ।

पहिलेको मूल्यमा आधाभन्दा पनि कम भएपछि तीन महिनासम्म विभिन्न जोखिम मोल्दै यार्चा संकलन गरेकाहरु झस्किएका हुन् ।

बझाङ जिल्लाको अधिकाशं गाँउका स्थानीयबासी यार्सागुम्वा संकलन गर्न हिमालतिर लागे पछि गाँउ नै सुनसान पारेर यार्सागुम्बा खोज्न जाने गरेका छन् । छोटो समयमा लाखौको आम्दानी हुने भएपछि दुध खाने बालबालिकासहित लिएर केटा केटी ,युवा बृद्घसहित यार्सा टिप्न लेकतिर लाग्ने गर्दछन् ।

मोबाईलको नेटवर्क नलाग्ने हिमालतिर जिल्लाको उत्तरी क्षेत्रका काडा , सुर्मा,दौलिचौर ,दहबगर,मेलबिसौना, धमेना, रिलु ,दातोला लगाएतका एक दर्जनभन्दा बढी गाबिसका बासिन्दाहरु यार्सा संकलन गर्न हिमालतिर जाने गर्दछन् ।

वच्चादेखि ६० वर्ष नाघेका मानिसहरु पनि छोटो समयमा धेरै कमाई हुने आशा गर्दै यार्सागुम्वा खोज्न बैशाखदेखि साउनसम्म यार्स संकलन गर्ने उपयुक्त समय भएकाले यो सिजनमा खानेकुरा, बस्नका लागि पाल लिएर हजारौको सख्यामा मानिसहरु यार्सा संकलनका जाने गर्दछन् ।

के हो यार्सागुम्बा ?

नेपालको हिमाली हावापानीमा हुर्किएको यो यार्सागुम्बा सुनभन्दा पनि महँगोमा बिक्रि वितरण हुने गरेको छ। तिब्बती भाषामा यार्सागुम्बाको अर्थ हुन्छ, ‘गर्मीको घाँस र चिसोमा कीरा’ अर्थात एक प्रकारले कीरा र घास भएर हिमाली हावापानीमा बसेको हुन्छ।

नेपालको हिमालयतर्फ र तिब्ब्ती सीमानामा करीब ३ हजार देखि पाँच हजार मिटरको उचाईमा यसको बासस्थान हुन्छ। यसलाई औषधि र चिकित्सा पद्धतिमा महत्वपूर्ण औषधिको रुपमा लिने गरिन्छ।त्‍यही कारण नेपालमा मात्रै होइन विदेशमा पनि सुनभन्दा महँगो रुपमा लिने गरिन्छ।

यसलाई मानिसलाई क्‍यान्सरको अचुक औषधि र खास गरी यौन क्षमता बढाउने काम गर्दछ। यही कारणले यसलाई ‘हिमालयको भियाग्रा’ पनि भन्‍ने गरिन्छ। अन्तराष्ट्रिय बजारमा एक किलो यार्सागुम्बाको मूल्‍य करीब एक लाख डलर बराबर रहेको बीबीसीले आफ्नो रिपोर्टमा उल्लख गरेको छ।