केराका धेरै प्रकारका जातहरु भए पनि हाल प्रचलनमा आएका, राम्रो उत्पादन दिने केही जातहरुको मात्र जानकारी गराइएको छ जसमा बसराई, हरिछाल, रोबस्टा र स्थानीय जात मालभोग रहेका छन् ।

बसराई ड्वार्फ :
यो जातको बोट होचो हुनुका साथै उचाइ केवल २ मिटरसम्मको मात्रै हुन्छ । यसको कोसा २५ सेन्टिमिटर लामा, हल्का बांगो देखिने, पाकेपछि हरियो हल्का, पहेंलो धेरै हुने, गुलियो ठीक, एउटा घरीमा लगभग १३० वटासम्म कोसा हुने हुन्छ ।

हरिछाल :
यो बसराई जातभन्दा अलि अग्लो हुन्छ । यसको उचाई ३ मिटर, फल बसराईको जस्तै तर यो पाकेपछि पनि हरियो नै रहन्छ, पहेंलो हुँदैन । यसको कोसा संख्या १६० वटासम्म हुन्छ ।

रोवस्टा :
यो पुड्के जातको केरा हो । यसको उचाइ २-३ मिटरसम्मको हुन्छ । यसको फल बसराईको जस्तै हो । तर यसको घरी ठूलो हुनुका साथै कोसा संख्या ४०० देखि ५०० सम्म भएको पाइएको छ ।

मालभोग :
यो नेपालको लोकप्रिय स्थानीय जात हो । यसको बोट ४-५ मिटर अग्लो हुन्छ भने एउटा घरीमा कोसाको संख्या १०० देखि १२० सम्म हुने हुन्छ । खानमा मिठो र धेरै दिनसम्म रहन सक्ने, नसड्ने, सुख्खा ठाउँमा पनि लगाउन सकिने जात हो ।
यी जातहरुमध्ये आफूलाई मनपर्ने जात छनोट गरी त्यसका सकर केराको बोट वरपरबाट निस्कने बोटहरु ६०-७० सेन्टिमिटर अग्लो वा स-साना गानाहरु जसमा २-३ आँखा होस् त्यस्ता बोटको छनोट गरी बेर्ना रोप्नुपर्दछ । ठूला बोट रोप्नु उपयुक्त हुँदैन ।

रोप्ने समय :

सामान्यतया केरालाई वर्षमा तीन सिजनमा रोप्ने गरिन्छ । प्रथम पुसदेखि फागुनको पहिलो हप्तासम्म र दोस्रो- बैशाख, जेठ र तेस्रो साउन भदौ हुन् । यी तीन सिजनमध्ये सबैभन्दा राम्रो प्रथम सिजनलाई नै मानिन्छ ।

प्रथम सिजनमा रोपेका विरुवाबाट पहिलो वर्षमा असोज-कार्तिक र दोस्रो वर्षमा असार, साउनमा बाली लिन सकिन्छ । त्यस समयमा केराको राम्रो उचित मूल्य पाउन सकिन्छ ।

सिंचाई :

केरालाई वर्षाको समय बाहेक अन्य समयमा सिंचाई दिइ नै रहनुपर्ने हुन्छ । यदि केरामा चिस्यानको कमी हुन गयो भने केराको उत्पादन नराम्रोसँग घट्ने गर्दछ । तसर्थ होचा जातका केराहरुलाई नपाक्दासम्म सिंचाईको आवश्यकता पर्दछ, त्यसैले चिस्यान हेरी सिंचाई दिई रहनुपर्दछ ।

काटछाँट र गोडमेल :

केराको बारीलाई सदैव सफा सुग्घर गरी राख्नुपर्दछ । बोटको वरिपरि झारपात गोडिरहने र केराका सकर बढी निस्केमा माउबोटसँग दुईवटा मात्रै रहन दिई अरु बोट काटी दिनु जरुरी हुन्छ । जब माउ बोटबाट फल लिइन्छ तबमात्र अर्को बोट बढ्न दिनु राम्रो हुन्छ ।

बुंगो काट्ने :

केराको घरी बनिसकेपछि (कोसा लागेपछि) केराको तलको बुङ्गो काटी दिनुपर्दछ । यसो गर्दा कोसाहरु सबै एकैनासको हुनुका साथै तौलमा पनि बढी हुने गरेको पाइएको छ ।

केरा काट्ने :

सामान्यतया केरा ९ देखि १२ महिनासम्ममा फल लाग्ने गर्दछ । त्यसको २–३ महिनापछि मात्र फल काट्ने लायकको हुन्छ ।

त्यस अवधिभरि सिंचाई, गोडमेल र कीरा नियन्त्रणमा ध्यान दिइरहनुपर्दछ । केरा पूरै छिप्पिएको छ छैन भनि जान्नको लागि कोसाको टुप्पो मा काला(काला फूलहरु सुकेको देखिने गर्दछन् तिनीलाई हातले छुदा झर्ने गरेमा केरा छिप्पिएको छ भनी जान्नुपर्दछ ।

केराको बोट काट्दा एक मिटर जमिनमाथिबाट बोटको घार काट्नु पर्दछ, जमिन सतहबाट काट्नु राम्रो हुँदैन, किनभने त्यसमा रहेको पोषक तत्व बाँकी रहेमा बोटहरुलाई काम लाग्ने हुन्छ ।

त्यसैले एक मिटर माथिबाटै काट्नु रामो हुन्छ । एक पटक लगाएको केराको बोट कति वर्षसम्म रहन दिँदा राम्रो फाइदा लिन सकिन्छ भन्नेमा त्यस ठाउँको माटो, हावापानी र गोडमेल आदिमा भरपर्दछ ।

तैपनि भन्नुपर्दा बसराई, हरिछाल र रोवस्टा जातलाई ३ बालीसम्म एउटै ठाउँबाट लिन सकिन्छ, त्यसपछि नयाँ ठाउँमा पुनः बेर्ना रोप्नु राम्रो हुन्छ ।

गवारो कीरा :

केराको सबैभन्दा विनाशकारी किरा गवारो नै हो । यसलाई केराको घुन पनि भन्ने गरिन्छ । यसले आक्रमण गरेको केराको बोट चिरेर हेर्ने हो भने लाभ्रेले केराको बोट भित्र छेडेर सुरुङ्ग बनाएको हुन्छ ।

त्यसले गर्दा केराका बोटहरु कमजोर हुन गई हावा लाग्दा ढल्ने गर्दछन् । यसको बढी आक्रमण हुने समय चैतदेखि भदौसम्म हो, यसै समयमा फ्यूराडन भन्ने विषादी गेडा तीन ग्रँम प्रति बोटका दरले बिरुवाको फेदको वरिपरि राखी माटोले पुरी दिनुपर्दछ ।

यदि सकिन्छ भने बोटको वरिपरि कुलेसो खनी त्यसमा गेडा राखी पुर्दा अझै प्रभावकारी भएको पाइएको छ । तसर्थ केरा खेती गर्ने व्यक्तिहरुले यस विषयमा बढी नै ध्यान पुर्याउनुपर्ने हुन्छ ।