हेटौंडा। कृषिको पकेट क्षेत्रको लागि प्रदेश –३ सरकारले चालु आर्थिक वर्षमा करिब ६७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ जिल्लामा घोषित नयाँ र पुराना गरी ४ सय ९५ वटा पकेटक्षेत्र र ५६ वटा ब्लकलाई ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

घोषित पकेट क्षेत्रमा अन्नबाली, फलफूल तथा तरकारीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न अनुदानका साथै अनुगमन तथा निरीक्षणको लागि तोकिएको बजेट खर्च गरिनेछ । पुराना पकेट क्षेत्रहरुका लागि ११ करोड ८७ लाख छुट्याइएको छ भने नयाँ पकेट क्षेत्रहरुका लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै नयाँ ब्लकहरुका लागि चालु अनुदानतर्फ १५ करोड र पुराना ब्लकहरुका लागि ८ करोड ५५ लाख रुपैयाँ चालु अनुदान छुट्याइएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. शरणकुमार पाण्डेले जानकारी दिए । गत आर्थिक वर्षमा मन्त्रालयले पकेट तथा ब्लकका लागि २८ करोड रुपैयाँ मात्र खर्च गरेकोमा चालु वर्षबाट पकेट तथा ब्लक क्षेत्रको अनुदानमा वृद्धि गरेको जनाएको छ ।

पकेट क्षेत्र स्थापना गर्ने तयारी :
परियोजनाका लागि मागभन्दा फरक पकेट क्षेत्र स्थापना गर्ने योजना मन्त्रालयले अघि सारेको छ । किसानसँग लिइएको आवेदनभन्दा फरक पकेट क्षेत्र स्थापना गर्ने योजनाअनुसार विज्ञको राय लिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मकवानपुरमा तरकारी, आलु र मकै, चितवनमा तरकारी, मौरी, केरा र धान, धादिङमा तरकारी, आलु र मकै, रसुवा, ललितपुर, भक्तपुर, काठमाडौंमा तरकारी र आलुको पकेट क्षेत्र स्थापना गर्ने योजना बनाएको छ ।