ललितपुर। भारत सरकारले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको लामो प्रतिबन्ध हटाएको छ। यसबाट किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउने र आम्दानी बढ्ने अपेक्षा गरिएको छ। विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जारी गरेको सूचनाअनुसार गहुँको निर्यात नीति तत्काल प्रभाव हुने गरी ‘प्रतिबन्धित’ बाट ‘स्वतन्त्र’ श्रेणीमा परिवर्तन गरिएको छ। यसअघि सन् २०२२ को मेमा घरेलु आपूर्ति सहज बनाउन र मूल्य नियन्त्रण गर्न भारतले गहुँ निर्यातमा रोक लगाएको थियो।
देशभित्र गहुँको मौज्दात पर्याप्त रहेको र उत्पादन पनि उल्लेख्य रूपमा बढेको आधारमा सरकारले निर्यात खुला गर्ने निर्णय गरेको हो। आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५–२६ को बाली वर्ष (जुलाई २०२५–जुन २०२६) मा भारतले करिब १२ करोड ६ लाख ५० हजार टन गहुँ उत्पादन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो।
सरकारले देशमा गहुँको भण्डारण अवस्था सन्तोषजनक रहेको र निर्यात खुला गर्दा पनि घरेलु बजारमा आपूर्ति अभाव नहुने प्रष्ट पारेको छ। यसका साथै निर्यातका माध्यमबाट किसानले फराकिलो बजार पाउने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने विश्वास लिइएको छ। यस निर्णयले आगामी दिनमा भारतमा गहुँ उत्पादन थप बढ्ने र किसानको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पर्ने सरकारको अपेक्षा रहेको छ।









