ललितपुर। पछिल्लो समय नेपालको खाद्यान्न आयातमा परनिर्भरता झन् बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाको तथ्याङ्कअनुसार धान–चामल, मकै, स्याउ र तरकारी जस्ता दैनिक उपभोग्य वस्तुहरूको आयातमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।
भन्सार विभागको तुलनात्मक तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा बढी आयात हुने खाद्य वस्तुमा चामल (धान, चामल र बासमतीसहित) अग्रस्थानमा रहेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा २४ अर्ब ३६ करोड रुपैयाँको चामल आयात भएकोमा यस वर्ष १४.६ प्रतिशतले वृद्धि भई २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ अर्ब ५५ करोड रुपैयाँले बढी हो ।
त्यस्तै, फलफूलतर्फ स्याउको आयातमा पनि १५.५ प्रतिशतको बढोत्तरी देखिएको छ । गत वर्ष ७ अर्ब २ करोडको स्याउ भित्रिएकोमा यस वर्ष ८ अर्ब ११ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको छ ।
अन्न बालीअन्तर्गत मकैको आयात पनि ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब २ करोड (१४.८ प्रतिशत) ले बढी हो ।
भान्सामा दैनिक प्रयोग हुने आलु र प्याजको आयात तथ्याङ्क पनि उस्तै चुनौतीपूर्ण छ । आठ महिनाको अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँको आलु आयात भएको छ, जुन गत वर्षको तुलनामा १४.३ प्रतिशतले बढी हो ।
सबैभन्दा उच्च प्रतिशतको वृद्धि प्याजमा देखिएको छ । प्याजको आयात १९.७ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यी तथ्याङहरूले नेपाल कृषिप्रधान देश भएतापनि आधारभूत खाद्यान्नमा समेत विदेशी बजारमा निर्भर हुनुपर्ने अवस्थालाई थप प्रष्ट पारेका छन् ।









