ललितपुर। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘२७ औं फ्लोरा एक्स्पो – २०८२’ मा अवलोकनकर्ताहरुको उल्लेखनीय सहभागिता देखिएको छ । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्य तथा ‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा चैत ८ गतेसम्म एक्स्पो सञ्चालन हुने छ । चैत ५ गते देखि शुरु भएको एक्स्पोको पहिलो दिन ९ हजार ५ सय जनाले अवलोकन गरेका थिए, भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)का कोषाध्यक्ष राजकृष्ण बजगाईंले जानकारी दिए । यस्तै, दोस्रो दिन शुक्रबार १७ हजार ५ सय अवलोकनकर्ताहरुले एक्स्पोको अवलोकन गरेका छन्, भने २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको बजगाईंले जानकारी दिए ।
यससँगै २ दिनमा कुल २७ हजार अवलोकनकर्ताहरुले एक्स्पो अवलोकन गरेका छन्, भने कारोबार ५१ लाख रुपैयाँभन्दा बढी पुगेको छ । उक्त एक्स्पोमा व्यवसायिक स्टल ६५ वटा, अफिसियल स्टल ११ वटा, प्रतिस्पर्धा स्टल २ वटा, फूड स्टल २ वटा, ल्याण्डस्केप स्टल १ वटा, सेल्फी स्टल १ वटा तथा बी वाई डी इभी कार स्टल १ वटा सहित गरी जम्मा ८३ वटा स्टल रहेका छन् । त्यसैगरी, उक्त एक्स्पोमा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरू र विभिन्न संघ र संस्थाहरूको सहभागिता रहेको छ । उक्त एक्स्पोमा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारिक बोटबिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ्गका सामाग्री, थोपा सिचाईं प्रबिधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमलाहरू, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् । साथै, फूल तथा बोटबिरुवाहरूमा लाग्ने रोग किराहरू तथा बिरुवाको स्वास्थ्यता प्रशिक्षण सम्बन्धमा जिज्ञासा भएमा सोको समाधानका बालि रोग विशेषज्ञहरूसहितको टिमद्वारा एकस्पो स्थलमा ‘प्लान्ट क्लिनिक’ स्टलबाट सेवा उपलब्ध गराइएको छ ।
एक्स्पोमा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धा गराइने मेलाका संयोजक राम बहादुर तामाङ (सुनिल )ले बताए । फ्यानका अनुसार यस वर्ष करिब ६० हजार अवलोकनकर्ताहरूद्वारा अवलोकन हुने तथा १ करोड २० लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने अनुमान गरिएको छ ।









