ललितपुर। नेपालको हिमाल र पहाड केवल सुन्दर दृश्यका लागि मात्र प्रसिद्ध छैनन् यहाँ पाइने बहुमूल्य हिमाली जडिबुटी विश्वभर परिचित छन् । यहीँ प्राकृतिक सम्पदाको मूल्य बुझेर त्यसलाई व्यवसायिक अवसरमा रूपान्तरण गर्ने उद्यमीमध्ये एक हुन् पुष्कर काफ्ले । सानैदेखि प्रकृति र हिमाली जडिबुटीप्रति रुचि राख्ने काफ्लेले नेपालका विभिन्न पहाडी तथा हिमाली जिल्लामा पाइने यार्सागुम्बा, सिलाजित, जटामासी, पाँचऔंले जस्ता बहुमूल्य जडिबुटीको महत्व बुझ्दै गए । यही अनुभव र रुचिले काफ्लेलाई जडिबुटी तथा अर्गानिक उत्पादनको क्षेत्रमा लाग्न प्रेरित गर्यो । फरक बाटोबाट शुरु भएको व्यवसायिक यात्रा काफ्लेको उद्यमिता यात्रा भने सिधैँ जडिबुटीबाट शुरु भएको थिएन । काफ्लेले चितवनबाट माछा फार्म सञ्चालन गर्दै आफ्नो व्यवसायिक जीवनको सुरुवात गरेका थिए । त्यसपछि काफ्लेले कोरियन थेरापी सम्बन्धि उपकरणको व्यापार समेत सञ्चालन गरे।
पढ्न र पढाउन धेरै रुचि भएका उनी पढाउने पनि गर्थे, तर समयसँगै परिस्थिति बदलियो, पार्टनरशिपका कारण र कोभिड -१९ महामारीको प्रभावपछि काफ्लेले त्यो व्यवसाय साथीहरूलाई जिम्मा लगाएर नयाँ सम्भावनातर्फ मोडिने निर्णय गरेँ । यही मोडले काफ्लेलाई फेरी आफ्नो पुरानो रुचि – हिमाली जडिबुटी र अर्गानिक उत्पादनतर्फ फर्कायो । गाउँबाट शुरु, काठमाडौंसम्म विस्तार सुरुवातमा काफ्लेले आफ्नै गाउँबाट पाइने अर्गानिक हिमाली खाद्यान्न जस्तै सिमी, मार्सी चामल, चिनो, कागुनो, फापर, कोदो, जिम्बु, टिमुर साथै थोरै मात्रामा जडिबुटी संकलन गरेर बिक्री गर्न थालेँ । कोभिड -१९ पछि मानिसहरू स्वास्थ्यप्रति सचेत बन्दै जाँदा प्राकृतिक र अर्गानिक उत्पादनप्रति माग तीव्र रूपमा बढ्न थाल्यो । यहीँ मागले काफ्लेलाई यस क्षेत्रमा अझ गहिरो रूपमा लाग्न प्रेरित गर्यो । समयसँगै व्यवसाय विस्तार हुँदै जाँदा काफ्लेले राजधानी काठमाडौंको बसुन्धरा क्षेत्रमा बि एण्ड पि ग्रुप अर्गानिक एण्ड हर्बस् प्रा.लि. स्थापना गरे । यहाँ अहिले विभिन्न प्रकारका हिमाली जडिबुटी र नेपालका विभिन्न जिल्लाबाट ल्याइएका अर्गानिक खाद्यान्न उपलब्ध छन् । लोकेशनलाई मध्यनजर गरी बसुन्धारापछि एउटा आउटलेट बानेश्वरमा ओखल अर्गानिक घर पनि शुरु गरे । हरेक ठाउँमा आउटलेट खोल्ने सपना रहेको उनि बताउँछन् ।
एबिए र सिएका विद्यार्थी भएकोले पनि अहिलेको डिजिटल माध्यम र सो व्यापार जोड्न सकिने महत्त्व बुझेकाले पनि आफ्नो व्यापारसँग सुहाउने नाम जुन अहिलेको आधुनिक समयसँगै कदम मिलाउँदै काफ्लेले ‘यार्सा – हब’ नामक अनलाइन प्लेटफर्म फेसबुक र टिकटक मा पनि शुरु गरेका छन् । फेसबुक र टिकटकमार्फत काफ्लेले प्राकृतिक उत्पादनलाई काठमाडौंका घर – घरमा पुर्याइरहेका छन् । विशेषगरी, सिजनमा नेपाली स्याउ, हिमाली अर्गानिक खाद्यान्न र वर्षभरि यार्सागुम्बा, सिलाजित, भिर मह जस्ता उत्पादनहरू अनलाइन अर्डर र डेलिभरीमार्फत उपलब्ध गराइन्छन् । ‘प्राकृतिक उत्पादनप्रति मानिसहरूको विश्वास दिनप्रतिदिन बढ्दै गएको अनुभव छ । नेपालमै मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि यार्सागुम्बा र सिलाजितको माग उल्लेखनीय रूपमा बढिरहेको छ’, काफ्ले बताउँछन् ।
काफ्लेको व्यवसायको मुख्य उद्देश्य केवल व्यापार मात्र होइन । उनका कामले हिमाली जडिबुटीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने अर्गानिक जीवनशैलीलाई प्रवर्द्धन गर्ने स्थानीय किसानहरु र संकलकलाई बजार उपलब्ध गराउने जस्ता महत्वपूर्ण लक्ष्यहरू पूरा गरिरहेको छ । युवाका लागि प्रेरणा पुष्कर काफ्लेको यात्रा केवल व्यवसायिक सफलता मात्र होइन, आत्मविश्वास र सम्भावनाको कथा पनि हो । काफ्लेको अनुभवले एउटा स्पष्ट सन्देश दिन्छ – नेपालमै बसेर आफ्नै देशको स्रोत र उत्पादनमा विश्वास गरेर मेहनत गरियो भने अवसरको कमी छैन । हिमालको काखमा उम्रने जडिबुटीले आज एक उद्यमीको सपना मात्र होइन, धेरै युवाका लागि सम्भावनाको ढोका पनि खोलिरहेको छ ।









