भोजपुर।  किसान अहिले हिउँदे आलु थन्काउने काममा व्यस्त छन् । खेतमा लगाइएको आलु परिपक्व भएसँगै किसान बिहानदेखि साँझसम्म आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा खटिएका देखिन्छन् ।

जिल्लाका ग्रामीण भेगमा हिउँदे मौसममा लगाइने आलु किसानका लागि महत्वपूर्ण बाली मानिन्छ । यसले घरायसी खाद्यान्नको आवश्यकता पूरा गर्नुका साथै नगद आम्दानीको राम्रो स्रोत पनि बनेको छ । विशेषगरी पहाडी भेगका किसानले हिउँदे सिजनमा आलुखेतीलाई प्राथमिकता दिने गरेका छन् ।

भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका सहितका क्षेत्रमा किसान अहिले आलु खन्ने र थन्काउने काममा व्यस्त छन् । केही किसानले घरायसी प्रयोजनका लागि आलु भण्डारण गरिरहेका छन् भने अधिकांशले बजारमा बिक्रीका लागि तयारी गरिरहेका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाका अनुसार आलु खेतीले छिटो आम्दानी दिने भएकाले किसान यसतर्फ आकर्षित भएका छन् । “अन्य बालीभन्दा आलुबाट छिटो आम्दानी लिन सकिन्छ । भोजपुर बजार नजिक भएकाले बिक्रीमा समस्या छैन। हामी यतिबेला आलु थन्काउन व्यस्त छौँ,” उनले बताए ।

यद्यपि गाउँबाट युवाशक्ति वैदेशिक रोजगारी र सहरतर्फ जाने क्रम बढ्दा खेतबारीमा कामदार अभाव हुने समस्या देखिएको छ । अधिकांश किसानले परिवारकै सहयोगमा आलु खन्ने र थन्काउने काम गरिरहेका छन् ।

जिल्लामा उत्पादन भएको आलु स्थानीय बजारसँगै छिमेकी जिल्ला र पूर्वी तराईका बजारसम्म पनि बिक्री हुने गरेको छ । कृषि ज्ञान केन्द्र भोजपुर का अनुसार गत वर्ष जिल्लामा हिउँदे र वर्षे गरी ५१,९०० मेट्रिकटन आलु उत्पादन भएको थियो भने करिब ३,२७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ ।