चितवन। चितवन जिल्लामा लगाइएको एभोकाडो खेतीमा क्याङ्कर (खटिराजन्य) रोग देखिएको छ । जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा रहेका एभोकाडो बगैँचामा उक्त रोगको सङ्क्रमण भेटिएको कृषि विकास कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले रोग फैलिएको हो । परीक्षणका लागि नमुना पठाइएको र चितवनमा पहिलो पटक यस्तो समस्या देखिएको उनले जानकारी दिए। ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने यो रोग माटो र पानीमार्फत सर्ने गर्दछ ।
यो रोग लागेपछि बोटका हाँगा सुकेजस्तो देखिने र क्रमशः पूरै बोट नै मर्ने अवस्था आउन सक्ने चौहानले बताए । रोग नियन्त्रणका लागि सिँचाइ गर्दा पानी सिधैँ बोटमा नपुग्ने व्यवस्था गर्न, बोटमा घाउ वा खटिरा देखिएमा बोडोपेष्ट लगाउन तथा बगैँचा सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइएको छ । आवश्यक परे ढुसिनासक औषधि प्रयोग गर्न पनि आग्रह गरिएको छ ।
हाल जिल्लामा ६ दशमलब ५ हेक्टर क्षेत्रफलमा एभोकाडो खेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट वार्षिक करिब ५१ मेट्रिकटन उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।









