झापा। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा ८ अर्ब ६१ करोड २० लाख ७ हजार बराबरको अलैँची निर्यात भएको हो ।
चालु आ.व.को दश महिनाको अवधिमा ४ हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आ. व. २०८१/८२ को सोही अवधिमा ५ अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैँची निर्यात भएको उनले बताए ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आ. व.को दश महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको छ । उक्त अवधिमा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । आ.व. २०८१/८२ को सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
कार्यालयको तथ्याङ्क अनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ९१ दशमलव १० प्रतिशत, छुर्पी ६३ दशमलव ३० प्रतिशत, अदुवा, सुठो १ सय १ दशमलव ८० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ३१६ दशमलव २० प्रतिशत, जडीबुटी ९२ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।
मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्त सम्ममा १६ अर्ब ३ करोड १५ लाख ८३ हजार बराबरको मालवस्तु निर्यात भएको छ ।









