म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब चार करोड रुपैयाँ आम्दानी गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण संकलन गरेको हो । कृषि शाखा प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट तीन करोड ८८ लाख रुपैयाँ मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिइन् ।

वडा नं. १ दोवामा ७० लाख, वडा नं. २ भुरुङ–तातोपानीमा ३९ लाख, वडा नं. ३ दानामा २१ लाख, वडा नं. ४ नारच्याङमा १० लाख, वडा नं ६. घारमा ६० लाख र वडा नं. ७ हिस्तान दोसल्ले र औलामा एक करोड ८८ लाख रुपैयाँ मूल्यबराबरको सुन्तला बिक्री भएको उनले बताइन्।

दुई सय जनाभन्दा बढी किसानले न्यूनतम ५० हजारदेखि २० लाख रुपैयाँ मूल्यबराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले २० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।

अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको  किसानले बताए ।

दोसल्लेका किसानले प्रतिकिलोग्राम २०० रुपैयाँसम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ ।