पोखरा। ए.बी. पेलेट फिड प्रा.लि. र ढकाल दाना पोल्ट्री सप्लायर्सको संयुक्त आयोजनामा पोखरामा एक दिने व्यवसायिक पोल्ट्री तालिम सम्पन्न भएको छ। स्थानीय किसान तथा पोल्ट्री व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा ४५ जनाको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म नेउपाने (भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, कास्की) ले नेपालमा पोल्ट्री क्षेत्रले कृषि अर्थतन्त्रमा पुर्‍याएको योगदान उल्लेख गर्नुभयो। उहाँले वैज्ञानिक र व्यवस्थित ढंगले कुखुरापालन गरेमा कम लागतमा पनि उत्पादन वृद्धि गर्न सकिने बताउँदै तालिममा सिकेका ज्ञान व्यवहारमा उतार्न किसानहरूलाई आग्रह गर्नुभएको थियो ।

तालिमका प्रशिक्षक डा. कुमार पौडेल र डा. थानेश्वर भट्टले आधुनिक पोल्ट्री व्यवस्थापन प्रणालीबारे प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा पोषण व्यवस्थापन, उपयुक्त दाना प्रयोग, आवास व्यवस्था, ताप नियन्त्रण, सरसफाइ तथा जैविक सुरक्षा (बायोसेक्युरिटी) लगायतका विषय समेटिएका थिए। साथै पोल्ट्रीमा देखिने प्रमुख रोग, तिनका लक्षण, उपचार तथा रोकथामका उपायबारे पनि जानकारी गराइएको थियो।

ए.बी. पेलेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक विवेक सञ्जेलले गुणस्तरीय दाना र स्वस्थ चल्लाको प्रयोगले उत्पादन वृद्धि तथा रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले किसानहरूलाई सस्तोभन्दा गुणस्तरलाई प्राथमिकता दिन सुझाव दिँदै कम्पनीले निरन्तर प्राविधिक सहयोग र तालिम कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

त्यसैगरी पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डा. सचिन रेग्मीले न्यूक्यासल, ककसिडियोसिस, आईबी, सीआरडी लगायत पोल्ट्रीमा देखिने रोगहरूको लक्षण, उपचार र रोकथामका उपायबारे जानकारी गराउनुभयो। प्रारम्भिक लक्षण समयमै पहिचान गर्न सके ठूलो क्षतिबाट जोगिन सकिने उहाँको भनाइ थियो।

ढकाल दाना पोल्ट्री सप्लायर्सका प्रोप्राइटर शुक्रराज ढकालले किसानहरू पोल्ट्री उद्योगका आधार स्तम्भ भएको उल्लेख गर्दै तालिममा सिकेका ज्ञान प्रयोग गरी उत्पादन वृद्धि गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा उत्कृष्ट किसानहरूलाई सम्मानस्वरूप “टोकन अफ लभ” प्रदान गरिएको थियो।

तालिमको समन्वय ए.बी. पेलेट फिड प्रा.लि. का दिपेश लामिछानेले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा सहभागी किसानहरूलाई टी–सर्ट, सहभागिता प्रमाणपत्र तथा तापक्रम नाप्ने थर्मोमिटर वितरण गरिएको थियो।

तालिम सहभागी किसानहरूले कार्यक्रम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता तालिम कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।