ललितपुर। अन्तर्राष्ट्रिय डेरी एक्स्पो यही माघ २५ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ माघ २५ देखि २९ गते सम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो ।

दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको सोही कार्यक्रममा गाई प्रदर्शनी गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

बगालेले भने ‘देशभरबाट गाई ल्याउनका लागि किसानहरुलाई अनुरोध गरिएको छ, त्यसमा आकर्षक, तथा गाईका लागि आवश्यक आहारविहार, स्वास्थ्य अवस्था सबै हेरेर प्रतियोगितात्मक गाई प्रदर्शनी गर्न लागिएको हो । पहिलो अनुभव हो, यसबाट गाईपालन प्रवर्द्धनका साथै नेपालमा पनि उन्नतस्तरका गाईहरु छन् भनेर देखाउन खोजिएको छ ।’

उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दूधबाट विभिन्न औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि किसानहरूलाई मेशिन उपकरणको अवलोकनको अवसर प्रदान गर्न पनि एक्स्पो उपयोगी हुने उनले बताए ।

५ दिनसम्म सञ्चालन हुने एक्स्पोमा नेपाल, भारत लगायतका दुग्ध उद्योगसँग सम्बन्धित प्रविधि उपकरणका साथै दुग्धजन्य उत्पादनहरू पशु औषधि भेटिनरी पशु आहार वित्तीय संस्थाहरू समेतको १ सय भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ ।

डेरी एक्स्पोको ५० हजारले अवलोकन गर्ने अनुमान आयोजकको छ ।