ललितपुर। नेपालका लागि तयार गरिएको जलवायु अनुकूलनको डिजिटल नक्सा आज सार्वजनिक गरिएको छ । नक्सा सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले यो नक्सा नेपालको कृषि क्षेत्रको लागि महत्वपूर्ण मोड भएको धारणा राख्नुभयो । उहाँले जलवायु परिवर्तनका जोखिमबाट आक्रान्त नेपालको परम्परागत कृषि प्रणालीको सुरक्षाको लागि यो नक्सा उपयोगी हुने बताउनुभयो । उहाँले यो नक्सा केही संस्थाहरूले उपयोग गर्न थालिसकेकोमा खुशी व्यक्त गर्दै विविध क्षेत्रसहित किसानस्तरमा उपयोग बढाउन सम्बद्ध निकायहरूले ध्यान दिनुपर्ने बताउनुभयो ।
बोर्लाग इन्स्टिट्यूट फर साउथ एसिएका क्षेत्रीय कार्यक्रम प्रमुख डा. प्रमोद अग्रवालले जलवायु परिवर्तनका जोखिमले विश्वव्यापी समस्या सिर्जना गरिरहेको वर्तमान अवस्थामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका वैज्ञानिकहरूको सकृयतामा तयार गरिएको यो नक्सा एक नयाँ प्रयास भएको र उपयुक्त समयमा आएको धारणा राख्नुभयो । नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिमसिनाले यो नक्साले जलवायुका जोखिमबाट बालीनाली र पशुपन्छीमा परेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि नीति निर्माण गर्न सहयोग गर्ने र जलवायु मैत्री प्रविधि अवलम्बनको क्षेत्रमा महत्वपूर्ण कोसे ढुंगा रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयोजक राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. तुलसी पौडेलले नक्साले जलवायु अनुकूलनका योजना तर्जुमा, वित्तीय संस्थाहरू मार्फत् जोखिम विश्लेषणमा आधारित ऋण प्रवाह, शिक्षा क्षेत्रमा अध्ययन र संस्थाहरूले सजगताका कार्यक्रममा प्रयोग गरी लाभ लिन सक्ने बताउनुभयो । नक्साको संचालन र उपयोगबारे वैज्ञानिक डा. रोशनबाबु ओझा र डा. विवेक सापकोटाले विशेष प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा कृषि तथा वन विश्वविद्यालका डिन प्रा.डा. अर्जुन श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार यो नक्सा डिजिटल नेपालको राष्ट्रिय उद्देश्य पूरा गर्न महत्वपूर्ण कदम रहेको र माटोको डिजिटल नक्सापछि नार्कले यो क्षेत्रमा गरेको अर्को उपलब्धि मूलक काम रहेको जानकारी दिनुभयो । डा. सुनिता सन्ज्यालले संचालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न संघीय, प्रादेशिक र स्थानीय तहका कृषि र पशु कार्यालयका प्रमुख हरूको उपस्थिति थियो । नक्साले किसानलाई बालीनाली र पशुपन्छीका जलवायुजन्य जोखिमको विश्लेषण गर्दै यसको असरको लेखाजोखा गर्न र जोखिम न्यूनीकरणका लागि स्थान र समय अनुसारका उपयुक्त प्रविधिको जानकारी दिन सहयोग पुग्ने बताइएको छ ।
नक्साबाट जानकारी लिन www.anna.narc.gov.np मा क्लिक गर्नसकिन्छ ।









