ललितपुर।  लामो खडेरीपछि हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित भएका छन् । मुलुकका अधिकांश क्षेत्रमा गएरातिदेखि छिटपुट तथा मध्यम वर्षा भएपछि लगाएको बालीनाली सप्रने र नयाँ बालीका लागि माटो मलिलो हुने भएकाले किसानहरू हर्षित भएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणालीका कारण पश्चिमबाट प्रवेश गरेको मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको अघिकांश स्थानमा वर्षा भएको छ । उक्त मनसुनी प्रणाली सक्रिय भएपछि हिमाली क्षेत्रमा हिमपात भएको छ ।

पछिल्लो २४ घण्टामा सुर्खेतको खानीखोला जलमापन केन्द्रमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा अधिकांश स्थान र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा भएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको तल्लो क्षेत्रमा हल्का मात्रै वर्षा भएको छ भने सो प्रणालीले अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यका आसपासमा वर्षा गराइरहेको छ ।

यो प्रणाली कमजोर हुँदै उत्तरपूर्वतर्फ सर्दै गइरहेको विभागले जनाएको छ । कोशी प्रदेशमा सामान्य प्रभाव पर्ने र उत्तरी भेकमा हल्का हिमपात हुने अनुमान छ ।

कृषि विज्ञ देशका विभिन्न स्थानमा परेको वर्षाले हिउँदे बालीका लागि राम्रो हुने बताउँछन् । असिनाबिनाको पानीले अहिले खेती गरिएको तोरीको दाना पुष्टि हुने र गहुँ उत्पादन बढ्ने  कृषि विज्ञ डा. केदार बुडाथोकि बताउँछन् ।

यससँगै हिउँदे वर्षापछि फलफूल तथा बोटबिरुवामा नयाँ पालुवा पलाउने र त्यसले आगामी वर्ष उत्पादन वृद्धि गराउन योगदान पुर्‍याउने बुडाथोकिले जानकारी दिए ।