बारा। जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित डुमरवाना चारपाते खेल मैदानमा सातौँ डुमरवाना थारु माघी महोत्सव २०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ। दुई दिनसम्म चल्ने महोत्सवको उद्घाटन मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले पानसमा दियो बालेर गर्नुभएको हो।

महोत्सवमा थारु समुदायको जीवनशैलीसँग गहिरो रूपमा जोडिएको कृषि संस्कृतिलाई विशेष प्राथमिकता दिइएको छ। स्थानीय किसान तथा बासिन्दाले परम्परागत कृषि औजार—हलो, कुटो, कोदालो, जातो, ढिकी तथा माछा मार्ने जालीलगायत सामग्रीको प्रदर्शनी गरेका छन्, जसले थारु समुदायको कृषिमा आधारित पहिचानलाई उजागर गरेको छ।

कार्यक्रममा थारु समुदायलाई भूमिपुत्र तथा कृषि पेशामा निर्भर समुदायका रूपमा चिनाउँदै ‘थारु संस्कृति जोगाऔँ, आ अपन पहिचान बचाऔँ’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। माघी पर्वमा परम्परागत रूपमा खाने कृषि उपजबाट तयार परिकारहरूको प्रदर्शनीले पनि दर्शकको ध्यान तानेको छ।

सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाएको छ। उद्घाटन समारोहमा ज्येष्ठ नागरिकहरूलाई सम्मानसमेत गरिएको थियो। हजारौँ दर्शकको उपस्थितिले कार्यक्रमको रौनक बढाएको छ।

आज हुने समापन कार्यक्रममा पनि थारु कृषि संस्कृति झल्काउने झाँकीसहित विभिन्न कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। यस किसिमका महोत्सवले थारु समुदायको कृषि परम्पराको संरक्षण, प्राकृतिक खेती प्रणालीको प्रवर्द्धन तथा किसानलाई हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा सहभागी किसानहरूले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्न सहयोग पुग्ने बताएका छन्।