ललितपुर। ह्यान्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल नामक गैर नाफमूलक संस्थाले रेशम विकास केन्द्र खोपासीसंगको सहकार्यमा राष्ट्रिय रेशम सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलन यही पुस २६ गते काठमाडौंमा आयोजना गरिने आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

नेपालको रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगको रुपमा पुनः स्थापित गर्ने उदेश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा सरकार, निजी क्षेत्र, बैंक तथा वित्तिय संस्था, लगानीकर्ता, गैर आवासीय नेपाली, विकास साझेदार, किसान तथा निर्यातकर्ता एउटै राष्ट्रिय मन्चमा एकत्रित भै रेशम उद्योगको विषयमा छलफल गरिने ह्यान्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले जानकारी दिनुभयो ।

सम्मेलनमा ‘नेपालमा दिगो रेशम खेतीको आधार स्थापना’, ‘नेपालको मूल्य अभिवृद्धि रेशम उत्पादन पारिस्थिति प्रणालीको निर्माण’ र ‘नेपाल रेशम भिजन २०२६–२०३५ को लागि सक्षम रेशम पारिस्थितिक प्रणालीको निर्माण’ सम्बन्धी सत्र सञ्चालन हुनेछ ।

अध्यक्ष पोखरेलका अनुशार, “नेपालमा आज रेशम उद्योग सञ्चालनमा छैन, यसको कारण सम्भावनाको अभाव होइन, दीर्घकालीन उपेक्षा, विखण्डन र लगानीको कमी हो, विश्व बजारमा दिगो तथा प्राकृतिक वस्त्रको माग बढिरहेका बेला अब रेशमलाई वेवास्ता गर्न सकिँदैन ।”

करिब २२ हजार हेक्टर क्षेत्रमा किम्बु (मुलबेरी) खेती, त्यससँगै रेमश किरा पालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृतरुमपा विकास गर्न सकेमा वार्षिक रु. पाँच खर्ब बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको ह्याण्डलुम फ्याब्रिक्सले जनाएको छ ।

एकीकृत मूल्य श्रृङ्खलाको अभाव, नीतिगत प्राथमिकताको कमी, वित्तीय पहुँच र बीमाको अभाव, प्रविधि तथा सीपको कमी, बजार तथा निर्यात संयन्त्रको अभावलगायतका कारण रेशम उद्योग सङ्कटमा पर्दै गएको अध्यक्ष पोखरेलको भनाइ छ ।

सोही समस्या समाधानमा सरोकारवालाको ध्यानाकृष्ट गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनलेको स्पटोक्ति छ । सम्मेलनमा नेपालको रेशम विकासको १० वर्षे ढाँचा (२०२६–२०३५) को अवलम्बन, ‘क्लस्टर’मा आधारित किम्बु खेती र रेशम किरा पालन, विशेष वित्तीय, व्यापारिक तथा बीमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, एकीकृत ‘नेपाल सिल्क’ ब्राण्डिङ र बजार पहुँचलगायत विषयमा गहन छलफल हुनेछ ।