ललितपुर। नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को आयोजनामा सञ्चालन भएको हाते ट्याक्टर (मिनी टिलर) मर्मत–सम्भारसम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ।

पुस १४ गतेदेखि १८ गतेसम्म संचालन भएको तालिम समापन कार्यक्रममा सरोकारवालाहरूले बढ्दो कृषि यान्त्रिकरणसँगै दक्ष मर्मत जनशक्तिको अभाव गम्भीर बन्दै गएको उल्लेख गर्दै यस्ता तालिम समयसापेक्ष र अत्यन्त उपयोगी भएको बताएका छन्।

समापन कार्यक्रममा बोल्दै नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक डा. श्रीमद् श्रेष्ठले तालिम आवश्यक ठानेर सहभागी भएका सबै प्रति धन्यवाद व्यक्त गरे। उनले विभिन्न ठाउँमा मिनी ट्याक्टर वितरण गरिए पनि मर्मत गर्ने जनशक्ति नहुँदा धेरै उपकरण थन्किएको उल्लेख गरे।

नयाँ–नयाँ मेसिन भित्रिँदै गएको सन्दर्भमा यस्ता तालिम निकै फलदायी हुने उनको भनाइ थियो।

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले तालिमले सहभागीलाई सीप र उद्यमशीलतामा अघि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले भन्सारको तथ्याङ्क उद्धृत गर्दै नेपालमा हाल वार्षिक ३५ हजारभन्दा बढी मिनी ट्याक्टर भित्रिएको जानकारी दिए। ती सबै उपकरणको मर्मतका लागि करिब एक हजार जनशक्ति आवश्यक पर्ने भए पनि हाल एक तिहाइ पनि प्राविधिक जनशक्ति नभएको उल्लेख गरे।

पछिल्लो समय मिनी ट्याक्टर सस्तो हुँदै गएको र यसको प्रयोग अझ बढ्ने देखिएकाले मर्मत जनशक्ति उत्पादनमा राज्य र निजी क्षेत्र दुवैको ध्यान जानुपर्ने आवश्यतालाई मध्यनजर गर्दै तालिम आयोजना गरिएको जानकारी दिए।

संघका महासचिव अर्जुन लुइँटेलले पाँच दिने तालिमले किसान तथा युवालाई व्यवहारिक रूपमा ठूलो फाइदा पुर्‍याउने बताए।

१८ जिल्लाका २४ जना सहभागी रहेको उक्त तालिमले कृषि क्षेत्रमा दक्ष प्राविधिक उत्पादन गर्न सकारात्मक सन्देश दिएको तालिममा सहभागीहरूको निष्कर्ष थियो।